अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेट
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकाको वासिङ्टन डिसीमा उच्चस्तरीय भेटवार्ता भएको छ।
विश्व बैंक अध्यक्ष बाङ्गाको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका अर्थमन्त्री वाग्लेले भेटका क्रममा नेपालमा हालै आएको बाढीबाट भएको क्षति तथा पुनर्निर्माणका विषयमा छलफल गरेका हुन्।
विशेषगरी रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण, बृहत् आर्थिक सुधार, बीमा तथा सामाजिक संरक्षणलगायत क्षेत्रमा आवश्यक स्रोत परिचालनबारे छलफल भएको जनाइएको छ।
नेपालले यी क्षेत्रमा करिब एक अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालन गर्नुपर्ने विषयमा अर्थमन्त्री वाग्लेले विश्व बैंक अध्यक्षसँग छलफल गरेका थिए।
भेटका क्रममा अध्यक्ष बाङ्गाले बाढीका कारण नेपालमा भएको जनधन तथा पूर्वाधारको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणका क्षेत्रमा विश्व बैंकबाट उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले सरकारले अघि सारेका नीतिगत तथा संस्थागत सुधारका प्रयासको प्रशंसा गर्दै नेपालमा पूर्वाधारमा लगानी बढाउन र देशभित्रै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए।
विश्व बैंकले एसियाली विकास बैंक तथा अन्तर्राष्ट्रिय वित्त निगमलगायत विकास साझेदारसँग समन्वय गरी नेपालको प्राथमिकताका क्षेत्रमा संयुक्त लगानी विस्तार गर्न नयाँ पहल गर्ने जानकारीसमेत अध्यक्ष बाङ्गाले दिएका छन्।
नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनका अनुसार पछिल्लो तीन दशकमा विश्व बैंकका अध्यक्ष र नेपालका अर्थमन्त्रीबीच भएको यो पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हो।
भेटवार्तामा विश्व बैंकका उपाध्यक्षद्वय जहानस जट र जुनेद अहमदसहित उच्चपदस्थ अधिकारीहरूको सहभागिता थियो।
तपाईको प्रतिक्रिया