बुधबार २१ असोज २०८३
समाज

कोहलपुरमा स्वास्थ्य परीक्षणका क्रममा संवेदनशील अङ्ग छोएको आरोपमा स्वास्थ्यकर्मी पक्राउ

मंगलबार असोज २०, २०८३/ Tuesday 10-06-26

बाँके । बाँकेको कोहलपुरस्थित एक पोलिक्लिनिकमा उपचारका लागि पुगेकी २२ वर्षीया युवतीलाई स्वास्थ्य परीक्षणका क्रममा यौन दुर्व्यवहार गरेको आरोपमा स्वास्थ्यकर्मी गणेशबहादुर थापा पक्राउ परेका छन्।

कोहलपुर नगरपालिका–११ रेडक्रस रोडमा सञ्चालित थापा पोलिक्लिनिकका सञ्चालकसमेत रहेका ६३ वर्षीय थापालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो। उनीविरुद्ध जिल्ला अदालत बाँकेबाट सात दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रहरीका अनुसार गत असोज १७ गते पेट दुख्ने तथा सेतो पानी बग्ने समस्या लिएर पोलिक्लिनिक पुगेकी युवतीको स्वास्थ्य परीक्षण गर्ने क्रममा थापाले उनको संवेदनशील अङ्गमा जबर्जस्ती हात लगाएको आरोप छ। घटनालाई लिएर पीडित पक्षले असोज १८ गते जबर्जस्ती करणीसम्बन्धी कसुरमा किटानी जाहेरी दिएको थियो।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरका अनुसार पीडित पक्षको जाहेरी, सामाजिक सञ्जालमा सार्वजनिक भएको घटनासम्बन्धी भिडिओ तथा अन्य प्रमाणका आधारमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।

घटनापछि बिरामीका आफन्त तथा स्थानीय केही व्यक्तिहरू पोलिक्लिनिकमा पुगेका थिए। सो क्रममा थापामाथि हातपातसमेत भएको थियो। उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विषय थप चर्चामा आएको हो।

प्रहरीमा दर्ता भएको जाहेरीमा थापा सीएमए अध्ययन गरेका व्यक्ति रहेको र पोलिक्लिनिकमा एकल रूपमा महिला बिरामीको परीक्षण गरेको उल्लेख छ। साथै, स्वास्थ्य परीक्षणका क्रममा आवश्यक महिला संरक्षक वा कुरुवाको उपस्थिति नगराइएको आरोपसमेत लगाइएको छ।

महिला बिरामीको संवेदनशील स्वास्थ्य परीक्षण गर्दा अपनाउनुपर्ने व्यावसायिक आचारसंहिताको पालना भए–नभएको विषयमा समेत प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

घटनासँग जोडिएकी अर्की महिलाले पनि आफूलाई करिब चार वर्षअघि थापाले यस्तै प्रकृतिको दुर्व्यवहार गरेको आरोप लगाएकी छन्। उनी पीडित भनिएकी युवतीकी रोजगारदाता रहेको बताइएको छ। घटनाको दिन युवती उपचारपछि क्लिनिकबाट फर्किएको करिब आधा घण्टापछि उनी केही सञ्चारकर्मी र अन्य व्यक्तिसहित क्लिनिक पुगेकी थिइन्।

यता, आरोपित थापाले भने आफूले कुनै दुर्व्यवहार नगरेको दाबी गरेका छन्। बिरामीले तल्लो पेट दुख्ने, गानोगोला हुने तथा सेतो पानी बग्ने समस्या बताएपछि उनकै आग्रहमा सामान्य शारीरिक परीक्षण गरेको र आफ्नो कुनै गलत नियत नरहेको उनको भनाइ छ।

 

तपाईको प्रतिक्रिया