शुक्रबार २३ असोज २०८३
राजनीति

कांग्रेसको १५औँ महाधिवेशन : बिहान १० बजेदेखि मतदान सुरु हुँदै

बिहीबार असोज २२, २०८३/ Thursday 10-08-26

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। निर्वाचन समितिका अनुसार बिहान १० बजेदेखि मतदान सुरु हुनेछ।

महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिले कांग्रेसको २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन्। सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ सार्वजनिक गरिसकेको छ।

केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार मतदान बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। प्रतिनिधिहरूको प्रदेश तथा प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ।

संशोधित निर्वाचन कार्यतालिकाअनुसार बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रिय सभा गृहमा रहेको मतदान केन्द्र ‘क’ बाट मतदान गर्नेछन्। अन्य प्रदेश तथा समूहका प्रतिनिधिका लागि खुलामञ्चमा विभिन्न मतदान केन्द्र तोकिएका छन्।

कोशी प्रदेश र मधेश प्रदेशका प्रतिनिधिका लागि तराई–मधेस हल, गण्डकी प्रदेशका लागि हिमाल हल तथा लुम्बिनी प्रदेशका लागि पहाड हल तोकिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधिले पनि पहाड हलबाट मतदान गर्ने व्यवस्था गरिएको छ।

निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ। मतदानअघि प्रतिनिधिको परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ।

निर्वाचन आचारसंहिताअनुसार मतदानस्थलमा मोबाइल फोनलगायत निषेधित सामग्री लिएर प्रवेश गर्न पाइने छैन। निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेपछि मात्र प्रतिनिधिले मतदान गर्न पाउनेछन्।

मतदानबाट कांग्रेसको नयाँ सभापतिसहित उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।

निर्वाचन समितिका अनुसार मतदान सकिएलगत्तै मतगणना सुरु गरिनेछ। मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिनेछ।

मतदान केन्द्र र प्रतिनिधि समूह

राष्ट्रिय सभा गृह — मतदान केन्द्र ‘क’

  • बागमती प्रदेश

खुलामञ्च — मतदान केन्द्र ‘ख’अन्तर्गत

  • तराई–मधेस हल: कोशी प्रदेश र मधेश प्रदेश
  • हिमाल हल: गण्डकी प्रदेश
  • पहाड हल: लुम्बिनी प्रदेश
  • पहाड हल: कर्णाली, सुदूरपश्चिम प्रदेश, नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधि

तपाईको प्रतिक्रिया