काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति’का सभापति कृष्णप्रसाद पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
सिंहदरबारस्थित संसदीय समिति कक्षमा आयोजित कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलगायतको उपस्थितिमा पौडेलले शपथ लिएका हुन्। शपथपछि उनले विशेष समितिको पहिलो बैठकसमेत बोलाएका छन्।
राष्ट्रियसभाको असोज १६ गते बसेको बैठकले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १६७ अनुसार नौ सदस्यीय विशेष समिति गठन गरेको थियो। समितिको सभापतिमा पौडेल निर्विरोध चयन भएका थिए।
शपथपछि प्रतिक्रिया दिँदै सभापति पौडेलले भोटेकोशी र कालीगण्डकी करिडोरमा हालै भएका विपद्बाट प्रभावित नागरिकको पीडा र समस्यालाई केन्द्रमा राखेर समितिले अध्ययन अघि बढाउने बताए। विशेषगरी बालबालिका, महिला, सुत्केरी तथा अपाङ्गता भएका व्यक्तिले भोग्नुपरेका कठिनाइलाई अध्ययनमा प्राथमिकता दिने उनको भनाइ छ।
उनले आगामी दिनमा यस्ता विपद्का कारण हुने मानवीय तथा भौतिक क्षति कम गर्न तथ्य र तथ्याङ्कमा आधारित प्रतिवेदन तयार गर्ने प्रतिबद्धता व्यक्त गरे। तीन महिनाको अवधिमा समितिले गहन अध्ययन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विश्वसनीय र कार्यान्वयनयोग्य प्रतिवेदन तयार गर्ने योजना रहेको उनले बताए।
आवश्यकताअनुसार विषयविज्ञको सहयोग लिनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासको अध्ययन गरेर व्यवहारिक सुझावसहितको प्रतिवेदन तयार गरिने पौडेलले जानकारी दिए।
तपाईको प्रतिक्रिया