इरानविरुद्ध फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका
काठमाडौं। अमेरिकाले इरानविरुद्ध पुनः ठूलो सैन्य कारबाहीको तयारी थालेको दाबी गरिएको छ। अमेरिकी रक्षा मन्त्रालयले सम्भावित सैन्य कारबाहीका लागि आवश्यक तयारी अघि बढाउन अमेरिकी केन्द्रीय कमान्डलाई निर्देशन दिएको बताइएको छ।
सम्भावित सैन्य कारबाही आगामी नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि हुन सक्ने आकलन गरिएको छ। इजरायलमा हुने निर्वाचनअघि पनि यस्तो कारबाही हुनसक्ने सम्भावना रहेको बताइएको छ।
अमेरिका र इजरायलले संयुक्त रूपमा कारबाही गरेमा इरानका ऊर्जा केन्द्र, महत्वपूर्ण पूर्वाधार तथा आणविक केन्द्रलाई हवाई आक्रमणको निशाना बनाउन सक्ने अमेरिकी अधिकारीहरूको भनाइ उद्धृत गरिएको छ।
इरानसँगको युद्धका कारण अमेरिकामा पेट्रोलको मूल्य बढेको छ। यसको असर ढुवानी, यातायात, हवाई सेवा तथा खाद्यान्नको मूल्यमा समेत परेको बताइएको छ। आगामी निर्वाचनमा अमेरिकी मतदाताका लागि बढ्दो जीवनयापन खर्च प्रमुख मुद्दा बन्न सक्ने देखिएको छ।
यसैबीच सार्वजनिक एक सर्वेक्षणअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यसम्पादनप्रतिको समर्थन ३२ प्रतिशतमा सीमित रहेको देखिएको छ। अघिल्लो महिनाको सर्वेक्षणमा पनि उनको समर्थन समान ३२ प्रतिशत रहेको थियो।
तपाईको प्रतिक्रिया