शुक्रबार २३ असोज २०८३
खेलकुद

एन्फाको आर्थिक अनियमितता प्रकरणमा चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

बिहीबार असोज २२, २०८३/ Thursday 10-08-26

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा भएको आर्थिक अनियमितता तथा खेल मिलेमतोसम्बन्धी अनुसन्धान टुङ्ग्याउँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ।

सीआईबीले एन्फामा ६६ लाख ५३ हजार रुपैयाँ बराबरको आर्थिक अनियमितता भएको निष्कर्षसहित बुधबार सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो।

सीआईबीका प्रवक्ता अनुपमशमशेर जबराका अनुसार एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई प्रतिवादी बनाएर मुद्दा चलाउन सिफारिस गरिएको छ।

प्रवक्ता जबराले अनुसन्धानका क्रममा प्राप्त प्रमाण तथा कागजातको अध्ययनबाट ६६ लाख ५३ हजार रुपैयाँ बराबरको अनियमितता भएको देखिएपछि सम्बन्धित व्यक्तिलाई प्रतिवादी कायम गरी मुद्दा चलाउन सिफारिस गरिएको जानकारी दिए।

सीआईबीले एन्फाको आर्थिक कारोबार, निर्णय प्रक्रिया तथा विभिन्न प्रतियोगितासँग सम्बन्धित गतिविधिमाथि केन्द्रित रहेर अनुसन्धान गरेको थियो।

अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाइसकिएको र अब प्रतिवेदनमा समेटिएका तथ्य, प्रमाण तथा प्रचलित कानुनी व्यवस्थाका आधारमा आवश्यक निर्णय हुने सीआईबीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया