काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा सरकारले निर्धारण गरेकोभन्दा बढी भाडा नलिन यातायात व्यवसायी तथा सम्बद्ध सबैलाई आग्रह गरेको छ।
महासङ्घका महासचिव डेकनाथ गौतमले तोकिएकोभन्दा बढी भाडा असुल्ने सवारीसाधनमाथि कारबाही हुने बताएका छन्। सरकारले यस वर्षको दसैँलाई लक्षित गर्दै असोज २३ गतेदेखि देशभर यात्रुवाहक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ।
यात्रु तथा मालवाहक यातायातलाई सहज, व्यवस्थित र सुरक्षित बनाउन यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, मजदुर सङ्घ–सङ्गठन, प्रहरी प्रधान कार्यालय तथा उपत्यका ट्राफिक प्रहरी कार्यालयबीचको समन्वयमा अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिएको हो।
महासङ्घले सातै प्रदेश, जिल्ला समिति, सदस्य सङ्घ–संस्था तथा काठमाडौँको गोङ्गबु बसपार्कमा कार्यरत शाखा प्रमुख र कर्मचारीलाई आवश्यक निर्देशन दिएको जनाएको छ।
अग्रिम टिकट बुकिङ काउन्टरमा खटिने कर्मचारीले तोकिएको पोसाक र परिचयपत्र अनिवार्य लगाउनुपर्नेछ। यात्रुसँग नम्र व्यवहार गर्दै सहज रूपमा टिकट उपलब्ध गराउने र सुरक्षित यात्राको व्यवस्था गर्न महासङ्घले निर्देशन दिएको छ।
दसैँको भीड व्यवस्थापनका लागि घटस्थापनादेखि कात्तिक ८ गतेसम्म नारायणगढ–काठमाडौँ सडकखण्डमा ट्रेलरलगायत ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधनको आवतजावतमा भने रोक नलगाइने जनाइएको छ।
त्यसैगरी, घटस्थापनादेखि कात्तिक १० गतेसम्म यात्रुवाहक सवारीसाधनका लागि देशभर लामो तथा मध्यम दूरीका रुट परमिट खुला गरिएको छ। सडकको विशेष प्रकृतिका कारण निश्चित आकार तथा प्रकारका सार्वजनिक सवारीसाधनमाथि लगाइएको प्रतिबन्ध भने यथावत् रहने महासङ्घले जनाएको छ।
काठमाडौँ उपत्यकाका प्रमुख नाकामा स्थापना गरिएका यात्रु सहायता कक्षको अनुगमन तथा सहजीकरणका लागि यातायात व्यवस्था विभागले फोकल पर्सनसहितको टोली परिचालन गर्नेछ। महासङ्घले गोङ्गबु बसपार्क, कलङ्की, कोटेश्वर, गौशाला र चाबहिल क्षेत्रमा समेत जिम्मेवारी तोकेको छ।
तपाईको प्रतिक्रिया