शुक्रबार २३ असोज २०८३
खेलकुद

आईसीसीको मान्यताको पर्खाइमा एनपीएल, विदेशी खेलाडी अनुबन्धमा अन्योल

बिहीबार असोज २२, २०८३/ Thursday 10-08-26

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को तयारीमा जुटिरहेका बेला प्रतियोगिताले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट औपचारिक मान्यता पाउने निर्णयको प्रतीक्षा गरिरहेको छ।

क्यानले आईसीसीले माग गरेका आवश्यक कागजात पठाइसकेको जनाएको छ। अब आईसीसीको औपचारिक निर्णयको प्रतीक्षा भइरहेको क्यानका सचिव पारस खड्काले जानकारी दिए।

उनका अनुसार एनपीएलका टोलीहरूले विदेशी खेलाडी अनुबन्धका लागि आवश्यक प्रक्रिया अघि बढाए पनि आईसीसीको स्वीकृति आएपछि मात्र खेलाडीको औपचारिक घोषणा गर्ने तयारीमा छन्।

खड्काले आईसीसीको मान्यता प्राप्त भएपछि एनपीएलका टोलीलाई उच्चस्तरका विदेशी खेलाडी अनुबन्ध गर्न सहज हुने बताए। त्यसले प्रतियोगिताको स्तर वृद्धि गर्नुका साथै नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय पहुँच र चर्चा बढाउन सहयोग पुग्ने उनको भनाइ छ।

आईसीसीको स्वीकृतिपछि एनपीएलका टोलीले टेस्ट राष्ट्रका चर्चित खेलाडीलाई समेत प्रतियोगितामा सहभागी गराउन सहज हुने क्यानको अपेक्षा छ। स्वीकृतिमा ढिलाइ हुँदा विदेशी खेलाडीको अन्तिम टुङ्गो लगाउन केही समस्या भइरहेको टोलीहरूले बताएका छन्।

एनपीएल टोली जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडा पनि आईसीसीको निर्णयको प्रतीक्षामा छन्। उनले छिट्टै सकारात्मक निर्णय आउने अपेक्षा व्यक्त गरेका छन्।

यसपटकको एनपीएलमा डेविड वार्नर, मोइन अली, सिकन्दर राजा र इफ्तिखार अहमदलगायत अन्तर्राष्ट्रियस्तरमा परिचित खेलाडी सहभागी हुने तयारीमा छन्। चर्चित विदेशी खेलाडीको सहभागिताले एनपीएलको चर्चा नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत बढ्ने क्यानको अपेक्षा छ।

क्यानका सचिव खड्काले एनपीएललाई खेलकुद प्रतियोगितासँगै नेपालको पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास गर्न सकिने बताए। यसअघि एनपीएलमा सहभागी हुन नेपाल आएका विदेशी खेलाडी, अम्पायर तथा कमेन्टेटरहरूले नेपालमा सकारात्मक अनुभव लिएर फर्किएको उनको भनाइ छ।

विदेशी खेलाडी तथा क्रिकेटसँग सम्बन्धित व्यक्तिको नेपाल आगमनले खेल पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने खड्काले बताए। अन्तर्राष्ट्रिय खेलाडीले नेपालबारे सकारात्मक धारणा व्यक्त गर्दा त्यसले विदेशी पर्यटक आकर्षित गर्नसमेत सहयोग पुग्न सक्ने उनको भनाइ छ।

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदैछ। प्रतियोगिताको फाइनल मङ्सिर ५ गते हुनेछ।

 

तपाईको प्रतिक्रिया