शुक्रबार २३ असोज २०८३
राजनीति

तीन अध्यादेश राष्ट्रपति कार्यालय पुग्यो

बिहीबार असोज २२, २०८३/ Thursday 10-08-26

काठमाडौं । सरकारले जारी गर्न सिफारिस गरेका तीन वटा अध्यादेश बिहीबार साँझ राष्ट्रपति कार्यालय पुगेका छन्।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी, वनसम्बन्धी र विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार विपद्, भूमि र वनसम्बन्धी कानुनी व्यवस्थालाई संशोधन गर्न अध्यादेश ल्याउन लागिएको हो।

भोटेकोशी बाढीलाई समेत ध्यानमा राखेर ल्याउन लागिएको विपद्सम्बन्धी अध्यादेशमा प्राकृतिक विपद्का कारण बेपत्ता व्यक्तिलाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ। हाल यस्तो घोषणा गर्न १२ वर्ष कुर्नुपर्ने व्यवस्था छ।

भूमिसम्बन्धी अध्यादेशमा भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने विषय समेटिएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीका अनुसार तीनवटै अध्यादेश बिहीबार साँझ करिब ५ बजे कार्यालयमा आइपुगेका हुन्। प्राप्त अध्यादेश राष्ट्रपतिसमक्ष पेश गर्न भने बाँकी रहेको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया