शुक्रबार २३ असोज २०८३
समाज

बुढानीलकण्ठबाट २२ किलो सुन बरामद, सुनको स्रोत खोज्दै प्रहरी

बिहीबार असोज २२, २०८३/ Thursday 10-08-26

काठमाडौं– काठमाडौंको बुढानीलकण्ठबाट प्रहरीले ठूलो परिमाणमा सुन बरामद गरेको छ। बुढानीलकण्ठ नगरपालिका–चपली क्षेत्रबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले करिब २२ किलो सुन बरामद गरेको हो।

प्रहरीका अनुसार सुन रहेको सूचनाका आधारमा बिहीबार मध्याह्नदेखि चपली क्षेत्रमा विशेष अपरेसन सञ्चालन गरिएको थियो। सो क्रममा ठूलो परिमाणमा सुन बरामद भएको हो।

सुन बरामद गर्ने क्रममा त्यससँग सम्बन्धित रहेको आशंकामा केही व्यक्तिलाई समेत प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूको परिचय भने प्रहरीले तत्काल सार्वजनिक गरेको छैन।

बरामद भएको सुनको बजार मूल्य करिब ५५ करोड रुपैयाँ हाराहारी पर्ने देखिएको छ। बिहीबार प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँका दरले हिसाब गर्दा २२ किलो सुनको मूल्य करिब ५५ करोड १५ लाख रुपैयाँ हुन्छ।

घटनाबारे थप विवरण सार्वजनिक गर्न प्रहरीले शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने जनाएको छ। त्यसपछि बरामद सुनको वास्तविक परिमाण, पक्राउ परेका व्यक्तिहरू तथा सुनको स्रोतबारे थप जानकारी आउने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया