मंगलबार ३ कार्तिक २०८३
समाज

यस वर्ष दुई दिन महाअष्टमी, आज पनि महागौरीको पूजा गर्नुपर्ने

सोमबार कार्तिक २, २०८३/ Monday 10-19-26

काठमाडौं । यस वर्ष बडादसैँअन्तर्गत नवरात्रमा अष्टमी तिथि दुई दिन परेकाले आज सोमबार पनि महाअष्टमीकै विधिअनुसार पूजा आराधना गर्नुपर्ने भएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार तिथि वृद्धि भएका कारण कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी परेको हो। समितिबाट स्वीकृत पात्रोमा समेत दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ।

समितिका पूर्वसदस्य तथा वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्राध्यापक डा. देवमणि भट्टराईका अनुसार आइतबार महाअष्टमीका अवसरमा गरिएका धार्मिक विधि तथा पूजाआजा सोमबार पनि दोहोर्‍याउनुपर्नेछ।

आज नवरात्रको नवौँ दिन भए पनि तिथिअनुसार अष्टमीकै कर्म गर्नुपर्ने भएकाले दसैँघर तथा पूजाकोठामा नवदुर्गामध्ये आठौँ स्वरूप महागौरीको पूजा आराधना गर्नुपर्ने उनले बताए।

यद्यपि, आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा भने आइतबार राति नै गर्नुपर्ने व्यवस्था समितिबाट स्वीकृत पात्रोमा उल्लेख छ।

यस वर्ष अष्टमी तिथि दुई दिन परेसँगै सामान्यतया नौ रातसम्म मनाइने नवरात्र दस रातको भएको छ। यस कारण विजयादशमीका दिन दस रातसम्म हुर्काइएका जमरा प्रयोग गरिनेछन्।

धर्मशास्त्रविद्हरूका अनुसार देवीको उपासना, साधना तथा आराधनाका लागि एक दिन थपिँदैमा धार्मिक विधि र परम्परामा कुनै प्रतिकूल प्रभाव पर्दैन।

हनुमानढोकामा आज राति कालरात्रि पूजा

यसैबीच, काठमाडौंको हनुमानढोका दरबारमा राज्यका तर्फबाट गरिने परम्परागत कालरात्रि पूजा भने आज सोमबार राति आयोजना गरिने भएको छ।

हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँगको परामर्श तथा तलेजुका पुजारीहरूले पालना गर्दै आएको परम्पराअनुसार सोमबार राति कालरात्रि पूजा गर्ने निर्णय गरिएको हो।

हनुमानढोका दरबारमा महाअष्टमीको मुख्य पूजा सम्पन्न गरेलगत्तै महानवमीको पूजा आराधना गर्ने परम्परा रहेकाले यस वर्ष पनि सोही विधिलाई निरन्तरता दिइने भएको छ।

दरबारको दसैँघरमा आइतबार महाअष्टमीको सामान्य पूजा गरिएको थियो भने मुख्य पूजा आज सोमबार गरिने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ।

हनुमानढोका दरबारमा महाअष्टमीको राति १०८ पशु बलिसहित विशेष पूजा आराधना गर्ने परम्परा रहिआएको छ।

 

तपाईको प्रतिक्रिया