लिग–२ को अन्तिम खेलमा आज ओमानसँग भिड्दै नेपाल, शीर्ष ६ मा पुग्न जित्नैपर्ने दबाब
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमिरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ।
लिग–२ को शीर्ष ६ भित्र स्थान सुरक्षित गर्ने लक्ष्यसहित मैदान उत्रने नेपालका लागि आजको खेल निकै महत्त्वपूर्ण मानिएको छ। ओमानलाई पराजित गर्न सके नेपाल अंकतालिकाको छैटौँ स्थानमा उक्लिनेछ भने हार बेहोरे सातौँ स्थानमै सीमित हुनेछ।
हालसम्म ३५ खेल खेलेको नेपालले २८ अंक जोड्दै सातौँ स्थानमा रहेको छ। समान प्रतिस्पर्धामा क्यानडा २९ अंकसहित छैटौँ स्थानमा छ। आजको खेलमा जित निकाले नेपालले ३० अंक पुर्याउँदै क्यानडालाई पछि पार्नेछ।
एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्ने सम्भावनाका दृष्टिले समेत शीर्ष ६ भित्र पर्नु नेपालका लागि महत्त्वपूर्ण छ। त्यसैले ओमानविरुद्धको खेल नेपाली टोलीका लागि प्रतिष्ठासँगै भविष्यको अन्तर्राष्ट्रिय क्रिकेट यात्रासँग जोडिएको छ।
यसअघि नै शीर्ष चारमा पुग्ने सम्भावना समाप्त भएसँगै नेपाल सन् २०२७ को एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा सिधै प्रवेश गर्न असफल भइसकेको छ। अब विश्वकप छनोटमा स्थान बनाउन नेपालले प्लेअफको बाटो अपनाउनुपर्नेछ।
लिग–२ को अन्तिम खेलमा घरेलु टोली ओमानलाई हराउँदै प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा नेपाल रहनेछ। शीर्ष ६ मा स्थान बनाउने अन्तिम अवसर भएकाले आजको खेल नेपाली क्रिकेटका लागि निर्णायक बनेको छ।
तपाईको प्रतिक्रिया