मंगलबार ३ कार्तिक २०८३
बिश्वो

महँगीविरुद्ध फ्रान्समा हिंसात्मक प्रदर्शन, २४ सय पक्राउ, शान्ति कायम राख्न राष्ट्रपति म्याक्रोको आह्वान

सोमबार कार्तिक २, २०८३/ Monday 10-19-26

पेरिस । फ्रान्समा बढ्दो महँगी, इन्धनको मूल्यवृद्धि र सार्वजनिक सेवाको खस्कँदो अवस्थाविरुद्ध सुरु भएको देशव्यापी प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोले नागरिकलाई शान्ति र संयम अपनाउन आह्वान गरेका छन्।

शनिबार देशका विभिन्न सहरमा भएको विशाल प्रदर्शन तोडफोड, आगजनी र लुटपाटमा परिणत भएको थियो। आइतबारसमेत राजधानी पेरिससहित प्रमुख सहरहरूमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप जारी रहेपछि राष्ट्रपति म्याक्रोले राष्ट्रका नाममा सम्बोधन गर्दै हिंसात्मक गतिविधि तत्काल रोक्न आग्रह गरेका हुन्।

एलिसी प्यालेसबाट सम्बोधन गर्दै म्याक्रोले नागरिकको असन्तुष्टि र आक्रोशलाई सरकारले गम्भीरतापूर्वक लिएको बताए। उनले शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने नागरिकको अधिकारको सम्मान गरिने तर हिंसा, आगजनी र सार्वजनिक सम्पत्तिमाथिको आक्रमण कुनै पनि अवस्थामा स्वीकार्य नहुने स्पष्ट पारे।

इन्धनको बढ्दो मूल्य, दैनिक उपभोग्य वस्तुको महँगी तथा शिक्षा र अन्य सार्वजनिक सेवामा देखिएको समस्याविरुद्ध शनिबार फ्रान्सभर करिब पाँच लाख ५० हजार नागरिक सडकमा उत्रिएका थिए।

राष्ट्रपति म्याक्रोले नागरिकका जायज माग सम्बोधन गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै आन्दोलनको आडमा हिंसा र लुटपाट गर्ने समूहलाई कानुनी कारबाही गरिने चेतावनी दिए।

फ्रान्सको गृह मन्त्रालयका अनुसार प्रदर्शनका क्रममा भएका हिंसात्मक गतिविधिमा संलग्न रहेको आरोपमा हालसम्म करिब दुई हजार चार सय जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

राजधानी पेरिस, मार्सेलीलगायत प्रमुख सहरहरूमा कालो पोसाक र नकाव लगाएका समूहले सवारीसाधन, सरकारी भवन तथा सार्वजनिक संरचनामा आगजनी गरेका छन्। प्रदर्शनकारीले विभिन्न स्थानमा पसल तोडफोड गर्नुका साथै लुटपाटसमेत गरेको बताइएको छ।

लिमोजिस सहरस्थित १९औँ शताब्दीमा निर्माण गरिएको ऐतिहासिक नगर भवनमा आगजनी हुँदा भवनको घडी टावर र छाना भत्किएका छन्। ऐतिहासिक महत्त्व बोकेको उक्त संरचनामा भएको क्षतिले फ्रान्समा व्यापक चिन्ता उत्पन्न गरेको छ।

प्रदर्शन नियन्त्रणबाहिर जान थालेपछि सुरक्षाकर्मीले अश्रुग्यास, पानीको फोहोरा र विस्फोटक ध्वनि उत्पन्न गर्ने उपकरण प्रयोग गरेका थिए।

गृह मन्त्रालयका अनुसार शनिबारको हिंसात्मक झडपमा करिब एक हजार प्रहरी अधिकारी घाइते भएका छन्। तीमध्ये सात जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

गत महिनादेखि विद्यार्थीहरूले सुरु गरेको विरोध आन्दोलनमा श्रमिक संगठन तथा सरकारविरोधी समूहसमेत सहभागी भएपछि प्रदर्शनले व्यापक रूप लिएको हो।

आगामी अप्रिलमा हुने निर्वाचनअघि चर्किएको आन्दोलनले फ्रान्सको राजनीतिक वातावरण थप तनावपूर्ण बनाएको छ। बढ्दो जीवनयापन खर्च, सरकारी नीतिप्रतिको असन्तुष्टि र सार्वजनिक सेवाको गुणस्तरलाई लिएर नागरिकमा देखिएको आक्रोशले राष्ट्रपति म्याक्रो नेतृत्वको सरकारमाथि दबाब बढाएको छ।

 

तपाईको प्रतिक्रिया