महाअष्टमीका अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो, बिहानैदेखि पूजाआराधना
काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको नवौँ दिन आज देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा दर्शन र पूजाआराधना गर्ने भक्तजनको घुइँचो लागेको छ। तिथि वृद्धिका कारण आज पनि महाअष्टमी मनाइएकाले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा रहेका देवी मन्दिरमा बिहानैदेखि श्रद्धालुको चहलपहल बढेको हो।
महाअष्टमीका अवसरमा काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, तलेजु भवानी र टोखा चण्डेश्वरीलगायतका शक्तिपीठमा भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ।
दसैँको अवसरमा विभिन्न शक्तिपीठ तथा देवी मन्दिरलाई ध्वजापताका र फूलमालाले सजाइएको छ। भक्तजनले देवीको दर्शन गर्दै आफ्नो परिवारको सुख, शान्ति, समृद्धि र कल्याणको कामना गरिरहेका छन्।
त्यस्तै, काठमाडौंको दक्षिणकाली, गोरखाको मनकामना, ताप्लेजुङको पाथीभरा, ललितपुरको बगलामुखी, कास्कीको विन्ध्यवासिनी र काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ।
यसैगरी, जुम्लाको चन्दननाथ, डोटीको शैलेश्वरी, डडेलधुराको उग्रतारा, बैतडीको त्रिपुरासुन्दरी, नेपालगञ्जको बागेश्वरी, सप्तरीको छिन्नमस्ता भगवती र राजदेवी, धनकुटाको जाल्पादेवी, धरानको दन्तकाली तथा बाराको गढीमाई मन्दिरमा समेत भक्तजनको उल्लेख्य चहलपहल रहेको छ।
शारदीय नवरात्रका रूपमा समेत चिनिने यस पर्वमा देवी दुर्गाका विभिन्न स्वरूपको विधिपूर्वक पूजाआराधना गर्ने परम्परा छ। धार्मिक मान्यताअनुसार नवरात्रका अवसरमा शक्तिपीठमा दर्शन तथा पूजा गरेमा मनोकामना पूरा हुने र देवीको कृपा प्राप्त हुने विश्वास गरिन्छ।
यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ। शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आराधनाले नकारात्मक शक्तिमाथि विजय प्राप्त हुने तथा जीवनमा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।
तपाईको प्रतिक्रिया