एनपीएलका खेल अब नयाँ समयमा, क्यानले गर्यो तालिका परिवर्तन
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रविधि लागू गरिने भएपछि खेल सुरु हुने समय परिवर्तन गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिअनुसार डीआरएस प्रविधि कार्यान्वयनमा ल्याउने निर्णयसँगै यसअघि सार्वजनिक गरिएको खेल तालिकाको समयमा केही हेरफेर गरिएको हो।
परिवर्तित तालिकाअनुसार एकै दिन दुई खेल हुने दिन पहिलो खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ भने दोस्रो खेल साँझ ५ बजेबाट सुरु हुनेछ।
त्यस्तै, एक खेल मात्रै हुने दिन पनि खेल साँझ ५ बजे सुरु हुने क्यानले जनाएको छ।
यसअघि दुई खेल हुने दिन दोस्रो खेल दिउँसो साढे ४ बजे सुरु हुने तय गरिएको थियो। त्यसैगरी, एक खेल मात्रै हुने दिन खेल दिउँसो साढे ४ बजे सुरु हुने तालिका सार्वजनिक गरिएको थियो।
तेस्रो संस्करणको एनपीएल आगामी कात्तिक ९ गतेदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।
डीआरएस प्रविधिको प्रयोगले खेलका क्रममा अम्पायरका निर्णय पुनरावलोकन गर्न सकिने भएकाले प्रतियोगितालाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया