बुधबार ४ कार्तिक २०८३
समाज

भ्रष्टाचार र कुशासनरूपी आसुरी प्रवृत्ति हटाउन सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री शाह

बुधबार कार्तिक ४, २०८३/ Wednesday 10-21-26

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्य गर्न सबै नागरिक एकजुट हुनुपर्ने बताएका छन्।

विजयादशमीको अवसरमा बुधबार बिहान सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले प्रत्येक नागरिकलाई ‘सरकार हाम्रो लागि छ’ भन्ने अनुभूति गराउन इमानदार प्रयास, दृढ अठोट र सामूहिक मेहनत आवश्यक रहेको बताएका हुन्।

विजयादशमीलाई असत्यमाथि सत्यको विजयका रूपमा स्मरण गर्दै उनले समाजमा विद्यमान नकारात्मक प्रवृत्तिविरुद्ध एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

प्रधानमन्त्री शाहले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृतिलाई आसुरी प्रवृत्तिको संज्ञा दिँदै तिनको अन्त्यका लागि सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरेका छन्। परिवर्तनका लागि सोचमा मात्रै नभई व्यवहारमा समेत सुधार ल्याउनुपर्ने उनको भनाइ छ।

दुर्गा भवानीले आसुरी शक्तिमाथि र भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको पौराणिक प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री शाहले मानिसभित्र रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक सोच त्याग्न विजयादशमीले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

भौगोलिक, सांस्कृतिक र भाषिक विविधताले भरिएको नेपाली समाजमा दसैँले विभिन्न वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई आपसी सद्भाव र एकताको सूत्रमा बाँध्ने उनले बताएका छन्।

प्रधानमन्त्री शाहले दसैँलाई आपसी सम्मान, प्रेम र सद्भाव साटासाट गर्ने अवसरका रूपमा मनाउन आग्रह गर्दै देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई आ–आफ्नो क्षमताअनुसार खुसी बाँडेर विजयादशमी मनाउन अपिल गरेका छन्।

 

तपाईको प्रतिक्रिया