बिहीबार ५ कार्तिक २०८३
समाज

दसैँको टीका र आशीर्वाद लिन आफन्तकहाँ जाने क्रम जारी

बिहीबार कार्तिक ५, २०८३/ Thursday 10-22-26

काठमाडौं । बडादसैँको टीकाको दोस्रो दिन पनि मान्यजन तथा आफन्तबाट रातो टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने क्रम जारी रहेको छ।

विजयादशमीका दिन घरपरिवारका सदस्यसँग टीका लगाएपछि सर्वसाधारण आज टाढा रहेका आफन्त तथा ज्येष्ठ नागरिकको घरमा पुगेर टीका थाप्ने र आशीर्वाद लिने गरिरहेका छन्।

विजयादशमीका दिन भेटघाट गर्न नपाएका तथा मान्यजन टाढा रहेका व्यक्तिहरूले कोजाग्रत पूर्णिमासम्म आफन्तकहाँ पुगेर टीका र जमरा ग्रहण गर्ने परम्परा छ। यस अवधिमा परिवार तथा आफन्तबीच भेटघाट, शुभकामना आदानप्रदान र आपसी सद्भाव साटासाट गर्ने गरिन्छ।

नेपालका केही स्थानमा विजयादशमीका दिन मात्रै टीका लगाउने प्रचलन रहे पनि अधिकांश क्षेत्रमा कोजाग्रत पूर्णिमासम्म दसैँको टीका लगाउने परम्परा कायम छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार नवदुर्गाको प्रसादस्वरूप ग्रहण गरिने टीका र जमरा कोजाग्रत पूर्णिमासम्म लगाएर मान्यजनबाट आशीर्वाद लिन सकिन्छ।

दसैँको यस परम्पराले परिवार तथा आफन्तबीचको सम्बन्ध प्रगाढ बनाउनुका साथै आपसी प्रेम, सद्भाव र सांस्कृतिक एकतालाई बलियो बनाउने विश्वास गरिन्छ।

 

तपाईको प्रतिक्रिया