मंगलबार १० कार्तिक २०८३
खेलकुद

एनपीएलमा आज लुम्बिनी र सुदूरपश्चिमको भिडन्त, कसले मार्ला बाजी?

सोमबार कार्तिक ९, २०८३/ Monday 10-26-26

काठमाडौँ।  नेपाली क्रिकेटको चर्चित प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ः३० बजे प्रधानमन्त्री वालेन्द्र शाहले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ। उद्घाटन समारोहलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रतियोगिताको सुरक्षाका लागि १२ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिनेछ। सुरक्षालाई प्रभावकारी बनाउन विभिन्न क्षेत्रमा कमान्ड पोस्ट स्थापना गरिएको छ भने एक सयभन्दा बढी सादा पोशाकका सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ।

आठ फ्रेन्चाइज टोली सहभागी हुने यस संस्करणमा करिब एक अर्ब ५० करोड रुपैयाँ बराबरको वित्तीय कारोबार हुने अनुमान गरिएको छ। अस्ट्रेलियाका डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल र बंगलादेशका शाकिब अल हसनजस्ता अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडीको सहभागिताले प्रतियोगिताप्रति दर्शकको आकर्षण थप बढाएको छ।

उद्घाटन खेलमा साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने

तेस्रो संस्करणको उद्घाटन खेलमा आज साँझ ५ बजे साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

गत संस्करणको फाइनलमा यी दुई टोली भिडेका थिए। उक्त खेलमा सुदूरपश्चिमलाई चार विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि जितेको थियो। यसपटक उद्घाटन खेलमै दुवै टोली आमनेसामने हुन लागेकाले प्रतिस्पर्धा रोचक हुने अपेक्षा गरिएको छ।

हेड टु हेडमा सुदूरपश्चिम अगाडि

एनपीएलका अघिल्ला संस्करणमा लुम्बिनी र सुदूरपश्चिमबीच तीन खेल भएका छन्। तीमध्ये सुदूरपश्चिमले दुई खेल जितेको छ भने लुम्बिनीले फाइनलमा एक जित निकालेको छ।

अघिल्लो सिजनको लिग चरणमा सुदूरपश्चिमले लुम्बिनीलाई सात विकेटले हराएको थियो। त्यसअघिको संस्करणको लिग चरणमा पनि सुदूरपश्चिमले लुम्बिनीमाथि ४५ रनको जित निकालेको थियो।

यद्यपि, अघिल्लो सिजनको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि जितेकाले यसपटक सुदूरपश्चिमसँग बदला लिने अवसरसमेत हुनेछ।

लुम्बिनी पाँच खेलदेखि अपराजित

लुम्बिनी लायन्स पछिल्ला पाँच खेलमा अपराजित रहँदै उद्घाटन खेलमा उत्रिन लागेको छ।

अघिल्लो सिजनको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनी फाइनलमा पुगेको थियो। त्यसअघि इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई चार विकेटले हराएको थियो।

लिग चरणका पछिल्ला खेलमा पनि लुम्बिनीले जनकपुर बोल्ट्सलाई चार विकेट र विराटनगर किंग्सलाई पाँच विकेटले पराजित गरेको थियो। लगातारको सफलताले टोलीको आत्मविश्वास बढाएको छ।

सुदूरपश्चिमको प्रदर्शन कस्तो छ?

सुदूरपश्चिम रोयल्सले पछिल्ला पाँच खेलमध्ये तीनमा जित र दुईमा हार बेहोरेको थियो।

अघिल्लो सिजनको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा पुगेको थियो। तर, लिग चरणको अन्तिम खेलमा विराटनगरसँगै टोली छ विकेटले पराजित भएको थियो।

त्यसअघि सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रन र जनकपुर बोल्ट्सलाई ७२ रनले हराएको थियो। फाइनलमा लुम्बिनीसँग पराजित भएपछि टोली यसपटक जितका साथ प्रतियोगिताको सुरुवात गर्न चाहन्छ।

सुदूरपश्चिमको टोली

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्समा इशान पाण्डे, अविनाश बोहोरा, आरिफ शेख, स्कट कुगेलेइन, सैफ अली जैब, ब्रान्डन म्याकमुलेन र विनोद भण्डारीलगायत खेलाडी छन्।

टोलीमा हेमन्त धामी, हिक्मत महरा, हैदर अली, मिलन बोहरा, टेकबहादुर रावत, अनिल खरेल, सचिन भट्ट, शेरफेन रदरफोर्ड, टेकराज थलाल, आयुव चन्द, दीपक बोहरा र फेबियन एलेन पनि छन्।

लुम्बिनीको टोली

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्समा रुबेन ट्रम्पलम्यान, सन्दीप जोरा, शेर मल्ल, डार्सी सर्ट, शमिम हुसेन, शाड्ली भान शाल्कवाइक र निरोशन डिक्वेलाजस्ता खेलाडी छन्।

टोलीमा दिनेश अधिकारी, अभिषेक गौतम, तिलक राज भण्डारी, दिलीप नाथ, आसिफ शेख, किशोर महतो, दुर्गेश गुप्ता, आकाश त्रिपाठी, अरनिको यादव, अजय चौहान र करण घर्ती मगर पनि समावेश छन्।

साविक विजेता लुम्बिनी आफ्नो उपाधि रक्षा अभियान सुरु गर्न मैदानमा उत्रिँदा सुदूरपश्चिम पहिलो खेलमै जित निकाल्दै प्रतियोगितामा बलियो सुरुवात गर्ने लक्ष्यमा हुनेछ।

 

तपाईको प्रतिक्रिया