मंगलबार १० कार्तिक २०८३
खेलकुद

एनपीएलमा आज दुई खेल हुँदै, चितवन र विराटनगरबीच पहिलो प्रतिस्पर्धा

मंगलबार कार्तिक १०, २०८३/ Tuesday 10-27-26

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछन्। सोमबारदेखि सुरु भएको प्रतियोगिताको दोस्रो दिन चितवन राइनोज, विराटनगर किङ्स, जनकपुर बोल्ट्स र कर्णाली याक्स मैदानमा उत्रिँदैछन्।

आजको पहिलो खेलमा दिउँसो साढे १२ बजे चितवन राइनोज र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेल साँझ ५ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुनेछ।

चितवन र विराटनगरको भिडन्त

पहिलो खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्सले कुशल मल्लको नेतृत्वमा रहेको चितवन राइनोजको सामना गर्नेछ।

विराटनगरको टोलीमा लोकेश बम, बसिर अहमद, प्रतिश जीसी, सुवास भण्डारी, नारायण जोशी, नरेन साउद र सुजन थपलियालगायत खेलाडी छन्। विदेशी खेलाडीमा आन्द्रे रसेल, एन्जेलो म्याथ्युज र चरिथ असलंका पनि विराटनगरको टोलीमा छन्।

यता चितवनको टोलीमा देव खनाल, अर्जुन साउद, रिजन ढकाल, कमलसिंह ऐरी, रवि बोपारा, सिकन्दर राजा, कलिम साना, विवेक यादव र विपिन रावललगायत खेलाडी छन्।

जनकपुर र कर्णालीबीच साँझको प्रतिस्पर्धा

दिनको दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने हुनेछन्।

हर्मित सिंहको कप्तानीमा रहेको जनकपुरमा कुशल परेरा, ललित राजवंशी, मयन यादव, अनिल साह, जिमी नीशम, मोइन अली र इफ्तिकार अहमदजस्ता खेलाडी छन्।

त्यस्तै, सोमपाल कामीको नेतृत्वमा रहेको कर्णाली याक्समा डेभिड मिलर, नन्दन यादव, युवराज खत्री, पवन सर्राफ, विपिनप्रसाद शर्मा र शुभ कंसाकारलगायत खेलाडी छन्।

सोमबार सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो।

 

तपाईको प्रतिक्रिया