मंगलबार १७ कार्तिक २०८३
अर्थ

सेयर बजार २६५८ अंकमा, ७ अर्ब नाघ्यो कारोबार

सोमबार कार्तिक १६, २०८३/ Monday 11-02-26

काठमाडौं । अघिल्लो साता लगातार उकालो लागेको सेयर बजारमा नयाँ साताको पहिलो कारोबार दिन सोमबार गिरावट आएको छ । गत साता तीन दिन बजार बढेको थियो भने दुई दिन सामान्य करेक्सन देखिएको थियो ।

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२.६५ अंकले घटेर २ हजार ६५७.५० विन्दुमा झरेको छ । यो १.२१ प्रतिशतको गिरावट हो । बजार घटे पनि कारोबार रकम भने उच्च रहेको छ । यस दिन ७ अर्ब १९ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

गत साता दैनिक न्यूनतम करिब ४ अर्बदेखि अधिकतम पौने ८ अर्ब रुपैयाँसम्मको कारोबार भएको थियो । बजार खुलेदेखि नै परिसूचक ओरालो लागेपछि अघिल्लो साताको वृद्धिबाट नाफा कमाएका लगानीकर्ताले नाफा सुरक्षित गर्न सेयर बिक्री गरेको देखिन्छ ।

सोमबार कारोबारमा आएका ३४३ कम्पनीमध्ये २१ वटाको सेयर मूल्य बढेको छ भने २५२ वटाको घटेको छ । बाँकी ६ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन ।

यस दिन बेनी हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक १३.५८ प्रतिशतले बढेको छ । यस्तै, सानिमा लार्ज क्याप फन्डको मूल्य सर्वाधिक ४.८६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर कम्पनी अगाडि रहेको छ । उक्त कम्पनीको ३७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया