मंगलबार १७ कार्तिक २०८३
खेलकुद

काठमाडौँ गोर्खाजको पहिलो जित, कर्णाली याक्स ४ विकेटले पराजित

सोमबार कार्तिक १६, २०८३/ Monday 11-02-26

काठमाडौँ ।  नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौँ गोर्खाजले कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमाडौँले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो।

काठमाडौँको जितमा रसिद खानले सर्वाधिक ५० रन बनाए। उनले ३२ बलमा तीन चौका र दुई छक्का प्रहार गरे। कप्तान करण केसीले आक्रामक ब्याटिङ गर्दै २० बलमा तीन छक्का र चार चौकासहित ४४ रन जोडे।

त्यस्तै जहानदाद खानले १० बलमा दुई छक्का र एक चौकाको मद्दतमा अविजित २२ रन बनाए। डेबिड वार्नरले १६ तथा मोहम्मद आदिल आलमले २० रनको योगदान दिए।

कर्णालीका कप्तान सोमपाल कामी र हुसेन तलातले दुई-दुई विकेट लिए। मार्क वाट र नन्दन यादवले एक-एक विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो।

कर्णालीका आरिफुल इस्लामले २२ बलमा पाँच चौका र तीन छक्कासहित सर्वाधिक ४४ रन बनाए। हुसेन तलातले ४० तथा पवन सर्राफले अविजित ३० रन जोडे। गुल्सन झाले २० र मार्क वाटले १७ रन बनाए।

काठमाडौँका कप्तान करण केसीले दुई विकेट लिए। साहब आलम, जहानदाद खान, देव शाह र सन्तोष यादवले एक-एक विकेट लिए।

यस जितसँगै काठमाडौँले प्रतियोगितामा पहिलो दुई अंक जोडेको छ। यसअघि पहिलो खेलमा पराजित भएको काठमाडौँले पुनरागमन गरेको हो। लगातार दुई खेल जितेको कर्णाली भने चार अंकसहित अंकतालिकाको शीर्ष स्थानमा कायम छ।

 

तपाईको प्रतिक्रिया