मंगलबार १७ कार्तिक २०८३
राजनीति

जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता

सोमबार कार्तिक १६, २०८३/ Monday 11-02-26

काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिग्यानकुमार थापाले आफ्नो नाम फिर्ता लिने भएका छन् । स्वार्थको द्वन्द्वसम्बन्धी प्रश्न उठेपछि उनले राजदूत नियुक्तिका लागि दिएको नाम फिर्ता लिन लागेको संसदीय सुनुवाइ समितिले जनाएको छ ।

सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सभापति बोधनारायण श्रेष्ठले थापाले नाम फिर्ता लिनेबारे समितिलाई जानकारी गराएको बताए । उनका अनुसार थापाले यससम्बन्धी निवेदनसमेत समितिमा पठाइसकेका छन् ।

सभापति श्रेष्ठले थापाको व्यक्तिगत तथा व्यावसायिक पृष्ठभूमि राम्रो भए पनि स्वार्थको द्वन्द्वको विषय उठेपछि नाम फिर्ता लिने निर्णय गरेको जानकारी दिए । कानुनी रूपमा राजदूत बन्न कुनै बाधा नरहे पनि व्यक्तिगत विषय जोडिएकाले यस्तो निर्णय गरेको थापाको भनाइ रहेको उनले बताए ।

थापाको परिवार जापानमा स्थायी बसोबास गर्दै आएको विषयलाई लिएर संसदीय सुनुवाइका क्रममा समितिका सदस्यहरूले प्रश्न उठाएका थिए । परिवारको जापानमा स्थायी आवासीय अनुमति, चलअचल सम्पत्ति तथा आर्थिक कारोबार रहेको विषयलाई सम्भावित स्वार्थको द्वन्द्वका रूपमा हेरिएको थियो ।

समिति सदस्य कबिन्द्र बुर्लाकोटीले पनि थापाले नाम फिर्ता लिने सम्बन्धमा निवेदन पठाएको पुष्टि गरेका छन् ।

यसअघि नै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको शीर्ष नेतृत्वले थापालाई जापानका लागि राजदूत नबनाउने समझदारी गरेको थियो । सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहबीच भएको छलफलमा उनलाई अन्य कुनै देशको राजदूत बनाएर पठाउने तर जापानका लागि भने नियुक्त नगर्ने सहमति भएको स्रोतको भनाइ छ ।

थापाको परिवार जापानको स्थायी आवासीय अनुमतिपत्र लिएर बसेको, त्यहाँ सम्पत्ति र ऋणसम्बन्धी कारोबार रहेको तथा उनले जापान सरकारबाट सेवा–सुविधा लिएको र सरकारी निकायमा काम गरेको विषयलाई स्वार्थको द्वन्द्वसँग जोडेर हेरिएको हो ।

तपाईको प्रतिक्रिया