मंगलबार १७ कार्तिक २०८३
बिश्वो

अमेरिकामा आज मध्यावधि निर्वाचन, प्रतिनिधिसभाका ४३५ र सिनेटका ३५ सिटमा प्रतिस्पर्धा

मंगलबार कार्तिक १७, २०८३/ Tuesday 11-03-26

काठमाडौं । अमेरिकामा आज मध्यावधि निर्वाचन हुँदैछ। यस निर्वाचनले अमेरिकी संसद् कंग्रेसका दुवै सदन प्रतिनिधिसभा र सिनेटमा राजनीतिक शक्ति सन्तुलन निर्धारण गर्नेछ।

निर्वाचनमा प्रतिनिधिसभाका सबै ४३५ सिट र सिनेटका १०० मध्ये ३५ सिटका लागि मतदान हुँदैछ। यसैगरी ३६ राज्यमा गभर्नर चयनका लागि पनि निर्वाचन हुनेछ।

अमेरिकी निर्वाचन आयोगका अनुसार मतदाताले संघीय, राज्य तथा स्थानीय तहका प्रतिनिधि चयन गर्नेछन्। निर्वाचनअघि नै ५ करोड ६० लाखभन्दा बढी मतदाताले अग्रिम मतदान गरिसकेका छन्।

यसपटकको निर्वाचनमा अर्थतन्त्र, बढ्दो महँगी, जीवनयापनको लागत र आप्रवासन प्रमुख चुनावी मुद्दा बनेका छन्। विशेषगरी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यशैली र आर्थिक नीतिलाई लिएर दुवै दलबीच फरक धारणा देखिएको छ।

हाल प्रतिनिधिसभा र सिनेट दुवैमा रिपब्लिकन पार्टीको बहुमत छ। आफ्नो बहुमत जोगाउने चुनौती रिपब्लिकनलाई छ भने दुवै सदनमा शक्ति बढाउने रणनीतिमा डेमोक्रेटिक पार्टी देखिएको छ।

प्रतिनिधिसभामा बहुमत हासिल गर्न डेमोक्रेटिक पार्टीलाई हालको तुलनामा चार सिट थप्नुपर्ने अवस्था छ। सिनेटको प्रतिस्पर्धा पनि निकै रोचक हुने सर्वेक्षणहरूले देखाएका छन्।

यस निर्वाचनको परिणामले सन् २०२८ मा हुने राष्ट्रपतीय निर्वाचनअघि अमेरिकी राजनीतिमा दुवै दलको रणनीति र शक्ति सन्तुलनमा महत्त्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया