बुधबार १८ कार्तिक २०८३
राजनीति

आईजीपी हटाउने सरकारको निर्णयप्रति ज्ञानेन्द्र शाहीको आपत्ति, राज्य व्यवस्था समितिको बैठक बोलाउन माग

बुधबार कार्तिक १८, २०८३/ Wednesday 11-04-26

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीमाथि व्यक्तिगत स्वार्थका आधारमा कारबाही गर्नु राज्यशक्तिको चरम दुरुपयोग भएको टिप्पणी गरेका छन्।

सरकारले बुधबार कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर एआईजी मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गर्ने निर्णय गरेपछि शाहीको यस्तो प्रतिक्रिया आएको हो।

शाहीले राज्यका निकाय र सुरक्षा संगठनलाई व्यक्तिगत तथा राजनीतिक स्वार्थ पूरा गर्ने माध्यम बनाउन नहुने धारणा राखेका छन्। प्रहरी संगठनको नेतृत्व परिवर्तन गर्दा कानुनी प्रक्रिया, संस्थागत मर्यादा र निर्णयको औचित्यलाई ध्यान दिनुपर्ने उनको भनाइ छ।

यसैबीच, शाहीले इनम सापकोटासँग जोडिएको विवाद, प्रहरी नेतृत्वमाथि उठेका प्रश्न र पत्रकारमाथि भएको प्रहरी कारबाहीका विषयमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोलाउन माग गरेका छन्।

समिति सभापति हरि ढकाललाई पत्र लेख्दै उनले पछिल्ला घटनाक्रमबारे गम्भीर छलफल र आवश्यक छानबिन गर्न माग गरेका हुन्।

शाहीले प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव र नेपाल प्रहरीका महानिरीक्षकलाई समितिमा बोलाएर घटनाबारे स्पष्ट जवाफ लिनुपर्ने मागसमेत गरेका छन्।

 

तपाईको प्रतिक्रिया