कुकुर तिहारमा सशस्त्रका तालिमप्राप्त कुकुरको विशेष प्रदर्शन
काठमाडौँ– यमपञ्चकअन्तर्गत आज कुकुर तिहार विभिन्न कार्यक्रम गरी मनाइएको छ। यसै अवसरमा बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको पशु स्वास्थ्य तथा डग ह्यान्डलर उपशाखामा विशेष कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रममा सशस्त्र प्रहरीका तालिमप्राप्त कुकुरहरूले अपराध अनुसन्धान, विस्फोटक पदार्थ तथा हातहतियार पहिचान, खोज तथा उद्धार र अनुशासनसम्बन्धी सीप प्रदर्शन गरेका थिए।
प्रदर्शनका क्रममा सीमाक्षेत्रमा परिचालन हुने विस्फोटक पदार्थ तथा हातहतियार पहिचान गर्ने कुकुर, अपराधीको खोजीमा प्रयोग हुने ट्र्याकर डग तथा विपद्का बेला भग्नावशेषमा पुरिएका मानिसको खोजी र उद्धारमा खटिने कुकुरहरूले आफ्नो क्षमता प्रस्तुत गरेका थिए।
त्यसैगरी, कुकुरलाई दिइने आधारभूत तालिम र अनुशासनसम्बन्धी अभ्याससमेत प्रदर्शन गरिएको थियो।
डग ह्यान्डलर उपशाखामा कार्यरत टीआईसी प्रदीप थापाका अनुसार तालिमप्राप्त कुकुरहरू सुरक्षा चुनौती तथा प्राकृतिक विपद्कासमयमा महत्वपूर्ण रूपमा परिचालन हुँदै आएका छन्।
२०७२ सालको विनाशकारी भूकम्पमा समेत खोज तथा उद्धारमा परिचालन गरिएका कुकुरहरू पछिल्लो समय भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोमा पनि खटिएका थिए।
थापाका अनुसार भोटेकोशी विपद्का क्रममा तीनवटा कुकुर परिचालन गरी कठिन भौगोलिक अवस्था, हिलो तथा मानिस पुग्न कठिन स्थानमा समेत खोजी गरिएको थियो। उक्त अभियानमा कुकुरहरूले २० वटा शव फेला पार्न सहयोग गरेका थिए।
कार्यक्रमको अन्त्यमा तालिमप्राप्त कुकुरहरूको पूजा गरी टीका तथा माला लगाइदिने र मिठा खानेकुरा खुवाउने कार्य गरिएको थियो।
मानव सुरक्षा, अपराध अनुसन्धान तथा प्राकृतिक विपद्का समयमा खोज र उद्धारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका कुकुरप्रति सम्मान र कृतज्ञता व्यक्त गर्दै सशस्त्र प्रहरीले कुकुर तिहार मनाएको हो।
तपाईको प्रतिक्रिया