काठमाडौँ । नेपाली सेनाले कुकुर तिहारको अवसरमा विशेष कार्यक्रम आयोजना गरी ‘डग शो’ गरेको छ। आइतबार मध्यपुर थिमिस्थित सेनाको भैरव वाहन गुल्ममा कुकुरको पूजा गर्नुका साथै तालिमप्राप्त कुकुरहरूको प्रदर्शनी गरिएको हो।
प्रदर्शनीमा तालिमप्राप्त कुकुरहरूले विभिन्न सीप तथा क्षमता प्रदर्शन गरेका थिए। नेपाली सेनाले सुरक्षा, अपराध अनुसन्धान तथा खोज तथा उद्धारलगायतका कार्यमा कुकुर परिचालन गर्दै आएको छ।
मानिसको तुलनामा कुकुरको सुँघ्ने क्षमता १० हजारदेखि एक लाख गुणासम्म बढी हुने भएकाले उनीहरूले विभिन्न शंकास्पद वस्तु तथा व्यक्तिको पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। विशेषगरी अपराध अनुसन्धान तथा सुरक्षा जाँचमा कुकुरको प्रयोग प्रभावकारी मानिन्छ।
नेपाली सेनाले निष्ठा, इमानदारिता र बफादारिताको प्रतीकका रूपमा कुकुरलाई सम्मान गर्दै हरेक वर्ष कुकुर तिहारका अवसरमा पूजा तथा विशेष कार्यक्रम आयोजना गर्दै आएको छ।
तपाईको प्रतिक्रिया