काठमाडौँ। यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजा गरी गाईपूजा पर्व मनाइँदैछ। हिन्दू धर्ममा गाईलाई पवित्र जनावरका रूपमा लिने भएकाले विधिपूर्वक पूजा गरी मीठा परिकार खान दिने परम्परा छ।
गाईबाट प्राप्त हुने दूध, दही, घिउ, गोबर र गहुँत धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिन्छन्। आमाको दूधजस्तै पोषिलो दूध दिने विश्वासका आधारमा गाईलाई गौमाताका रूपमा सम्मान गर्ने चलन रहिआएको छ।
धार्मिक मान्यताअनुसार गाईको विधिपूर्वक पूजा गरी विभिन्न परिकार चढाउँदा पुण्य प्राप्त हुने विश्वास गरिन्छ। नेपालका केही स्थान तथा समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन रहे पनि शास्त्रीय मान्यताअनुसार औँसी समाप्त भई प्रतिपदा सुरु हुने समयमा गाईपूजा गरिन्छ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीले विभिन्न धार्मिक तथा पितृकार्यमा गाईदान गर्ने परम्परासमेत रहेको छ। पछिल्लो समय गाई उपलब्ध नभएको अवस्थामा सङ्कल्प गरेर रकम राख्ने चलन बढ्दै गएको धर्मशास्त्रका जानकार प्रा. डा. रामचन्द्र गौतमले बताएका छन्।
तपाईको प्रतिक्रिया