काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले पहिलो जित निकालेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखराले कर्णाली याक्सलाई ६३ रनले पराजित गरेको हो ।
२१८ रनको लक्ष्य पछ्याएको कर्णाली १८.३ ओभरमा १५४ रनमा समेटियो । कर्णालीका पवन सर्राफले सर्वाधिक ३२, दीपक डुम्रेले २२, सोमपाल कामीले २१ र अरिफुल इस्लामले २४ रन बनाए ।
पोखराका महेदी हसनले ३ तथा धनञ्जय लक्षन, कुशल भुर्तेल र विपिन खत्रीले समान २ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१७ रन बनाएको थियो ।
पोखराका युवराज सामराले ४८ बलमा १० चौका र ६ छक्कासहित १०२ रनको शतकीय इनिङ खेले । कुशल भुर्तेलले ३९ बलमा ६२ र कप्तान चमिका करुणारत्नेले ११ बलमा अविजित ३५ रन बनाए ।
शानदार शतक बनाएका सामरा प्लेयर अफ द म्याच घोषित भए ।
यो जितसँगै पोखराले पाँच खेलबाट दुई अंक जोडेको छ । यसअघि लगातार चार खेलमा पराजित भएको पोखरा अंकतालिकाको आठौँ स्थानमा छ । कर्णाली पाँच खेलबाट चार अंकसहित सातौँ स्थानमा छ ।
तपाईको प्रतिक्रिया