एनपीएलमा आज कर्णाली–पोखरा र चितवन–काठमाडौंबीच प्रतिस्पर्धा हुने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स आमनेसामने हुँदा दोस्रो खेलमा चितवन राइनोज र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ।
पहिलो खेलमा कर्णाली र पोखरा दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रनेछन्। प्लेअफ सम्भावना कायम राख्न दुवैका लागि आजको खेल महत्वपूर्ण हुनेछ।
चार खेलबाट दुई जित र दुई हारसहित चार अंक जोडेको कर्णाली तालिकाको छैटौँ स्थानमा छ। यता, लगातार चार खेलमा पराजित पोखरा पहिलो जितको खोजीमा हुनेछ। यी दुईबीचको खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दिउँसो १२ः३० बजे सुरु हुनेछ।
त्यस्तै, आजै हुने दोस्रो खेलमा चितवन राइनोजले काठमाडौं गोर्खाजको सामना गर्नेछ। दुवै टोली जित निकाल्दै अंकतालिकामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यमा हुनेछन्।
चार खेलबाट तीन जित र एक हारसहित चार अंक जोडेको काठमाडौं तालिकाको दोस्रो स्थानमा छ। पाँच अंकसहित चौथो स्थानमा रहेको चितवनले चार खेलमध्ये दुईमा जित र एकमा हार व्यहोरेको छ भने एक खेल वर्षाका कारण रद्द भएको थियो।
चितवन र काठमाडौंबीचको खेल साँझ ५ बजे सुरु हुनेछ।
तपाईको प्रतिक्रिया