काठमाडौँ। यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पूजा, गोरू तिहार र म्ह पूजा मनाइँदैछ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेका यी पर्वले प्रकृति, पशुपन्छी र आफ्नै शरीरप्रति सम्मान प्रकट गर्ने परम्परालाई झल्काउँछन्।
गोवर्द्धन पूजाका दिन घरआँगनमा गोवर्द्धन पर्वतको प्रतीक बनाएर गोबर, फूल, दूध, दही र विभिन्न सामग्रीले पूजा गर्ने चलन छ। भगवान् श्रीकृष्णले गोकुलवासीलाई वर्षाबाट जोगाउन गोवर्द्धन पर्वत उठाएको धार्मिक विश्वासका आधारमा यो पूजा गरिन्छ।
आजै खेतबारीमा किसानलाई सहयोग गर्ने गोरूको पूजा गरी गोरू तिहार मनाइन्छ। गोरूलाई माला र टीका लगाएर मिठा खानेकुरा खुवाउने परम्परा छ। कृषि कार्यमा गोरूले पुर्याएको योगदानको सम्मान र श्रमप्रति कृतज्ञता व्यक्त गर्न यो पर्व मनाइन्छ।
यसैगरी, आज नेवार समुदायले म्ह पूजा गर्दैछन्। नेवार समुदायमा ‘म्ह’ को अर्थ शरीर हो। म्ह पूजामा आफ्नै शरीर र आत्माको पूजा गरी सुस्वास्थ्य, दीर्घायु, शक्ति र सुखसमृद्धिको कामना गरिन्छ। परिवारका सदस्य एकै ठाउँमा बसेर मण्डप बनाई दीप प्रज्वलन गर्दै विधिपूर्वक पूजा गर्ने र आशीर्वाद आदानप्रदान गर्ने चलन छ।
आजै नेपाल संवत् नयाँ वर्षको अवसरमा नेवार समुदायले विभिन्न स्थानमा भिन्तुना र्याली तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गर्छन्। परम्परागत पोशाक, बाजागाजा, नृत्य र झाँकीसहित निकालिने र्यालीले नेवार समुदायको मौलिक संस्कृति, भाषा र पहिचानलाई उजागर गर्छ।
तपाईको प्रतिक्रिया