मंगलबार २४ कार्तिक २०८३
समाज

नेपाल संवत् नेपालको मौलिक इतिहास र पहिचानसँग जोडिएको छ : प्रचण्ड

मंगलबार कार्तिक २४, २०८३/ Tuesday 11-10-26

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को नयाँ वर्षका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिएका छन्।

उनले नेपाल संवत् नेपालको मौलिक इतिहास, सभ्यता, संस्कृति र राष्ट्रिय पहिचानको महत्वपूर्ण प्रतीक भएको उल्लेख गरेका छन्। शुभकामना सन्देशमा प्रचण्डले आफू नेतृत्वको पहिलो गणतन्त्रात्मक सरकारले २०६५ सालमा नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा मान्यता दिने ऐतिहासिक निर्णय गरेको स्मरणसमेत गरेका छन्।

राष्ट्रिय विभूति शङ्खधर साख्वाको योगदानको चर्चा गर्दै उनले नेपाल संवत्ले राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र समृद्धिको भावनालाई थप मजबुत बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

इतिहासअनुसार शङ्खधर साख्वाले विसं ९३७ अर्थात् इसं ८८० मा गरिब जनताको ऋणमोचन गरेर नेपाल संवत् प्रारम्भ गराएका थिए। लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरु भएको यो संवत् नेपालको आफ्नै मौलिक संवत्का रूपमा परिचित छ।

तपाईको प्रतिक्रिया