सभामुख अर्याल र गृहमन्त्री गुरुङद्वारा शङ्खधर साख्वाःको सालिकमा माल्यार्पण
भक्तपुर । नेपाल संवत् ११४७ को नयाँ वर्षका अवसरमा सभामुख डोलप्रसाद अर्याल र गृहमन्त्री सुदन गुरुङले राष्ट्रिय विभूति शङ्खधर साख्वाःप्रति श्रद्धा व्यक्त गर्दै उनको सालिकमा माल्यार्पण गरेका छन्।
राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानद्वारा आयोजित शुभकामना तथा माल्यार्पण कार्यक्रममा सभामुख अर्याल, गृहमन्त्री गुरुङ, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता थियो। उनीहरूले भक्तपुरस्थित शङ्खधर चोकमा रहेको साख्वाःको सालिकमा पुष्प अर्पण गर्दै उनको योगदानको स्मरण गरे।
कार्यक्रममा सभामुख अर्यालले आफ्नो सम्पत्ति खर्चेर ऋणमा परेका सर्वसाधारणलाई मुक्त गराउने साख्वाःको योगदान ऐतिहासिक र अनुकरणीय रहेको बताए। उनले साख्वाःको परोपकारी भावना र सामाजिक न्यायको आदर्शलाई आत्मसात् गर्दै राष्ट्र र जनताको हितमा काम गर्नुपर्नेमा जोड दिए।
त्यस्तै, मुख्यमन्त्री थापामगरले भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए।
कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति मधु आचार्य, सांसद मदनकृष्ण श्रेष्ठ तथा प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठलगायतको उपस्थिति थियो।
तपाईको प्रतिक्रिया