महादेवटार सुरुङको ‘ब्रेक थ्रु’ हुँदै, राष्ट्रपति पौडेल सहभागी हुने
मकवानपुर । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको महादेवटारमा निर्माणाधीन सुरुङमार्गको आज ‘ब्रेक थ्रु’ गरिने भएको छ। उक्त कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम रहेको छ।
भीमफेदी गाउँपालिका–८ र बकैया गाउँपालिका–१२ लाई जोड्ने महादेवटारमा समानान्तर रूपमा दुईवटा सुरुङ निर्माण भइरहेका छन्। तीमध्ये ३.४४५ किलोमिटर लामो सुरुङको आज मुख्य खण्ड छिचोल्न लागिएको हो।
यससँगै महादेवटारमा निर्माणाधीन दुवै सुरुङको मुख्य भाग छिचोलिनेछ। यसअघि अर्को ३.४८६ किलोमिटर लामो सुरुङको गत भदौमै ‘ब्रेक थ्रु’ सम्पन्न भइसकेको छ।
नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजनाअन्तर्गत हाल सातवटा सुरुङ निर्माणाधीन अवस्थामा छन्। समग्र आयोजनालाई १३ वटा प्याकेजमा विभाजन गरेर निर्माण कार्य अघि बढाइएको छ।
तपाईको प्रतिक्रिया