सी, ट्रम्प र पुटिनबीच आज ऐतिहासिक त्रिपक्षीय वार्ता हुँदै
बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार चीनको दक्षिणी सहर सेन्जेनमा ऐतिहासिक त्रिपक्षीय वार्ता हुने भएको छ ।
विश्वका तीन प्रमुख शक्ति राष्ट्रका राष्ट्रप्रमुख पहिलोपटक औपचारिक रूपमा एउटै वार्ताको टेबुलमा बस्न लागेका हुन् । एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुन सेन्जेन पुगेका तीनै नेताबीच बुधबार सम्मेलनको औपचारिक सामूहिक तस्बिर खिचाउनुअघि संक्षिप्त भेटघाट र हात मिलाउने कार्यक्रम भएको थियो ।
बुधबार सेन्जेन विमानस्थलमा अवतरण गरेका अमेरिकी राष्ट्रपति ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी आफैँ धावनमार्गमा पुगेर अँगालो हाल्दै स्वागत गरेका थिए । दशकौँपछि कुनै चिनियाँ सर्वोच्च नेताले विदेशी राष्ट्रप्रमुखलाई विमानस्थलमै पुगेर स्वागत गरेको यो दुर्लभ घटनालाई अन्तर्राष्ट्रिय कूटनीतिमा विशेष महत्त्वका साथ हेरिएको छ ।
गत सेप्टेम्बरमा सीको वासिङ्टन भ्रमणका क्रममा ट्रम्पले गरेको स्वागतको प्रत्युत्तरस्वरूप सीले यसपटक विशेष आतिथ्य प्रदान गरेको विश्लेषण गरिएको छ ।
बिहीबार दिउँसो करिब एक घण्टा चल्ने अपेक्षा गरिएको त्रिपक्षीय बैठकमा युक्रेन र इरानमा जारी युद्ध, आणविक हतियार नियन्त्रण तथा अप्रसार, व्यापारिक तनाव र कृत्रिम बौद्धिकता (एआई) को विकासलगायतका विषयमा छलफल हुने बताइएको छ । यद्यपि, बैठकबाट तत्काल कुनै ठोस सम्झौता हुने सम्भावना भने कम रहेको आकलन गरिएको छ ।
कूटनीतिक विश्लेषकहरूका अनुसार यो बैठक अमेरिकी राष्ट्रपति ट्रम्पका लागि विश्व शक्ति सन्तुलन र प्रभाव क्षेत्रसम्बन्धी आफ्नो अवधारणा अघि बढाउने अवसर हुन सक्छ ।
त्यस्तै, पश्चिमी राष्ट्रहरूको प्रतिबन्ध र कूटनीतिक दबाब सामना गरिरहेका रुसी राष्ट्रपति पुटिनका लागि अमेरिकी र चिनियाँ राष्ट्रपतिसँग एउटै मञ्चमा बसेर वार्ता गर्नु महत्त्वपूर्ण कूटनीतिक अवसरका रूपमा हेरिएको छ
तपाईको प्रतिक्रिया