बिहीबार ३ मङ्सिर २०८३
समाज

जयबागेश्वरीमा सुनचाँदीका गरगहना चोरी गरेको आरोपमा दीपेश डङ्गोल पक्राउ

बिहीबार मङ्सिर ३, २०८३/ Thursday 11-19-26

काठमाडौं । काठमाडौंको जयबागेश्वरीस्थित एक घरबाट सुनचाँदीका गरगहना चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौंका दीपेश डङ्गोल रहेका छन्। घरमा चोरी भएको सूचना प्राप्त भएपछि प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनलाई स्कुटरमा सवार रहेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दानबहादुर थापाका अनुसार पक्राउपछि डङ्गोलको कोठामा खानतलासी गर्दा चोरीका विभिन्न सुन तथा चाँदीका गरगहनासहित नगद फेला परेको थियो।

प्रहरीले उनको साथबाट १६ हजार ७१६ भारतीय रुपैयाँ र ४१ हजार नेपाली रुपैयाँ बरामद गरेको छ। बरामद गरिएका गरगहना तथा नगद चोरीको घटनासँग सम्बन्धित रहेको प्रहरीले जनाएको छ।

डङ्गोलविरुद्ध चोरीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट बुधबार पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रवक्ता थापाले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया