काठमाडौं । गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई भ्रमण सकेर स्वदेश फर्किएका छन् ।
‘विश्व प्रहरी शिखर सम्मेलन’ मा सहभागी हुन उनी कात्तिक २७ गते साँझ दुबई प्रस्थान गरेका थिए । भ्रमण टोलीमा गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्ले र स्वकीय सचिव जेम्स कार्की सहभागी थिए ।
नोभेम्बर १६ देखि १८ (कात्तिक ३० देखि मङ्सिर २) सम्म सञ्चालन भएको सम्मेलनमा विश्वभरका प्रहरी प्रमुख तथा सुरक्षा विज्ञहरूले सुरक्षा चुनौती र प्रविधिबारे छलफल गरेका थिए । सम्मेलनमा नेपाल प्रहरीका तर्फबाट एसएसपी ऋषिराम कँडेलको नेतृत्वमा डीएसपी गोविन्द राउत र इन्स्पेक्टर देवराज काफ्ले सहभागी भएका थिए । प्रहरी महानिरीक्षक भने सम्मेलनमा सहभागी भएनन् ।
सम्मेलनअघि मन्त्री गुरुङले अबुधाबीस्थित नेपाली दूतावासको भ्रमण गरी अधिकारीहरूसँग छलफल गरेका थिए । उनले यूएईका वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेयोदीसँग पनि भेटवार्ता गरेका थिए ।
गृहमन्त्रीको सचिवालयका अनुसार भेटमा सुरक्षा प्रविधि, ‘फेसलेस पुलिसिङ’ तथा बूढीगण्डकी जलविद्युत् आयोजनामा यूएईको लगानीको सम्भावनाबारे छलफल भएको थियो । यद्यपि, ऊर्जा मन्त्रालयको कार्यक्षेत्रमा पर्ने बूढीगण्डकी आयोजनाको लगानीको विषय गृहमन्त्रीको भ्रमणमा उठेपछि त्यसको प्राथमिकताबारे प्रश्न उठाइएको छ ।
तपाईको प्रतिक्रिया