काठमाडौं–तराई द्रुतमार्गको भौतिक प्रगति ५१ प्रतिशत, महादेवटार सुरुङ छिचोलियो
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेस द्रुतमार्गको निर्माण कार्य ५१ प्रतिशत सम्पन्न भएको छ । मकवानपुरको भीमफेदी र बकैया गाउँपालिकामा निर्माण भइरहेको द्रुतमार्गअन्तर्गत ३ हजार ४५४ मिटर लामो महादेवटार सुरुङ छिचोलिएको छ ।
सुरुङको दुवैतर्फबाट खनिएको भाग जोडिएसँगै आयोजनाले अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको हो । सुरुङ छिचोलिएको कार्यक्रममा आयोजना प्रमुख सहायक रथी भरतलाल श्रेष्ठले आयोजनाको समग्र भौतिक प्रगति ५१ प्रतिशत पुगेको जानकारी दिए ।
नेपाली सेनाका अनुसार द्रुतमार्गमा सात स्थानमा निर्माण भइरहेका १४ वटा सुरुङमध्ये धेद्रे, लेनडाँडा र महादेवटारका गरी ६ वटा सुरुङ खन्ने काम सम्पन्न भएको छ । बाँकी चार स्थानका आठवटा सुरुङ निर्माणाधीन छन् ।
यसैबीच, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले द्रुतमार्गको निर्माण निर्धारित समयभित्र सम्पन्न गर्न निर्देशन दिएका छन् । उनले आयोजना तीन वर्षभन्दा बढी ढिलो भएको अवस्थालाई सरकारले स्वीकार गर्न नसक्ने बताउँदै निर्माणमा ढिलाइ गर्ने ठेकेदार कम्पनीको ठेक्का रद्द गर्ने चेतावनी दिए ।
पटक–पटक अवसर र सुविधा दिँदा पनि अपेक्षित प्रगति नभए ठेक्का अन्त्य गर्न उनले निर्देशन दिएका छन् । आगामी जेठसम्म निर्धारित कार्यतालिकाअनुसार ठोस प्रगति देखिनुपर्ने उनको भनाइ छ ।
आयोजनाअन्तर्गत ललितपुरको खोकना–डुकुछाप खण्डमा जग्गा अधिग्रहणसम्बन्धी समस्या भने अझै समाधान हुन सकेको छैन । करिब ६.५ किलोमिटर खण्डको समस्या समाधानका लागि पहल भइरहेको र त्यसपछि ठेक्का व्यवस्थापन प्रक्रिया अघि बढाइने आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए ।
तपाईको प्रतिक्रिया