सरकारी ऊर्जा कम्पनीसँग करिब एक हजार मेगावाट विद्युत खरिद सम्झौता गर्दै प्राधिकरण
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सरकारी स्वामित्वका विभिन्न ऊर्जा कम्पनीसँग करिब एक हजार मेगावाट क्षमताका जलविद्युत् तथा सौर्य आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) अघि बढाएको छ ।
प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार सरकारी स्वामित्वका कम्पनीसँग पीपीए गर्ने तयारी पूरा भएको छ । यससम्बन्धी निर्णय यसै साताभित्र प्राधिकरण सञ्चालक समितिबाट गरिने उनले जानकारी दिए ।
पीपीए अघि बढाउन लागिएका आयोजनामा २१० मेगावाटको चैनपुर सेती, ७० मेगावाटको सिम्बुवा, ४३९ मेगावाटको बेतन कर्णाली, १२४ मेगावाटको जगदुल्ला ए, ३० मेगावाटको विद्युत् उत्पादन कम्पनीको सौर्य आयोजना, ४५४ मेगावाटको किमाथांका र ७७ मेगावाटको चिलिमे सेतीलगायत छन् ।
विद्युत् खरिद सम्झौता भएपछि सम्बन्धित सरकारी कम्पनीलाई लगानी जुटाउन, पूर्वाधार निर्माण गर्न र आयोजना निर्माणलाई गति दिन सहज हुने अपेक्षा गरिएको छ । आयोजनाबाट उत्पादित विद्युत् प्राधिकरणले खरिद गर्नेछ ।
ऊर्जामन्त्री श्रेष्ठले सरकारी विद्युत् कम्पनीहरूमा राज्यको दायित्व बढ्दै गएको भन्दै तत्काल पीपीए प्रक्रिया अघि बढाउन प्राधिकरणलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । मन्त्रीले सरकारी कम्पनीसँगै निजी क्षेत्रका विद्युत् आयोजनाको पीपीए पनि अघि बढाउन निर्देशन दिएका छन् ।
तपाईको प्रतिक्रिया