बंगलादेशमा हिंसा चर्कियो, बम विस्फोट र आगजनीमा चार घाइते, ५६५ पक्राउ
काठमाडौं । बंगलादेशमा राजनीतिक तनाव चुलिँदै जाँदा हिंसात्मक घटना बढेका छन्। पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगले देशव्यापी बन्द आह्वान गरेकै दिन राजधानी ढाकामा विभिन्न स्थानमा बम विस्फोट भएका छन् भने पूर्वअन्तरिम सरकार प्रमुख मोहम्मद युनुसको चटगाउँस्थित पैतृक घरमा आगजनी गरिएको छ।
हिंसाका क्रममा ग्रामीण बैंकका शाखा, राजनीतिक दलका कार्यालय तथा नेताहरूका निजी सम्पत्तिमा समेत आक्रमण भएको छ। प्रहरीका अनुसार घटनामा कम्तीमा चार जना घाइते भएका छन् भने ढाकामा सञ्चालन गरिएको २४ घण्टे सुरक्षा अभियानमा ५६५ जना पक्राउ परेका छन्।
देशका ६४ प्रशासनिक जिल्लामध्ये २८ जिल्लामा सवारीसाधन जलाउने र दर्जनौँ कच्चा बम विस्फोट गराउने घटना भएका छन्। अवामी लिग र बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का कार्यालय तथा नेताहरूका घरसमेत निशानामा परेका छन्।
गत वर्ष विशेष न्यायाधिकरणले मानवताविरुद्धको अपराधमा अनुपस्थितिमै मृत्युदण्ड सुनाएपछि भारतमा बस्दै आएकी हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्किने घोषणा गरेकी छन्। यसले पनि राजनीतिक तनाव थप बढाएको छ।
हिंसा नियन्त्रणका लागि राजधानी ढाकासहित संवेदनशील जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ। गोपालगञ्जलगायत क्षेत्रमा सीमा सुरक्षा बलका हजारौँ सुरक्षाकर्मी परिचालन गरिएको छ।
यसैबीच प्रधानमन्त्री तारिक रहमानले बीएनपीका सांसदहरूलाई निर्वाचन क्षेत्रमा फर्केर कार्यकर्ता तथा समर्थकसँग सक्रिय रहन निर्देशन दिएका छन्। गृहमन्त्री सलाहुद्दिन अहमदले हिंसा र आगजनीमा संलग्न व्यक्तिलाई प्रमाणका आधारमा पहिचान गरी कडा कानुनी कारबाही गरिने बताएका छन्।
पश्चिमी नाराइल, फरिदपुर र पिरोजपुरमा भएका हिंसात्मक घटनामा सत्तारूढ दलका दुई स्थानीय नेतासहित चार जनाको मृत्यु भएको विवरणसमेत सार्वजनिक भएको छ।
तपाईको प्रतिक्रिया