बिहीबार ३ मङ्सिर २०८३
खेलकुद

एनपीएल फाइनल प्रवेशका लागि आज सुदूरपश्चिम र चितवन भिड्दै

बिहीबार मङ्सिर ३, २०८३/ Thursday 11-19-26

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा स्थान बनाउन आज बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच दोस्रो क्वालिफायर खेल हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलको विजेताले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । लुम्बिनी पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई हराउँदै फाइनल पुगिसकेको छ ।

पहिलो क्वालिफायरमा पराजित सुदूरपश्चिम दोस्रो अवसर सदुपयोग गर्दै लगातार तेस्रो पटक फाइनल पुग्ने लक्ष्यमा छ । यता, चितवनले बुधबार भएको एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।

काठमाडौंविरुद्ध चितवनले कमिल मिशाराको अविजित १२० र रवि बोपाराको ५३ रनको मद्दतमा २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो । जवाफमा काठमाडौं १४३ रनमै समेटिएको थियो । चितवनका रिजन ढकालले चार र उसामा मिरले तीन विकेट लिएका थिए ।

लगातार दुई सिजन उपविजेता बनेको सुदूरपश्चिम यसपटक उपाधि जित्ने लक्ष्यमा छ । पहिलो सिजन जनकपुर बोल्ट्स र दोस्रो सिजन लुम्बिनी लायन्ससँग फाइनलमा पराजित भएको सुदूरपश्चिमका लागि यो अर्को अवसर हो ।

पहिलो पटक एनपीएलको फाइनल पुग्ने लक्ष्य राखेको चितवन पनि उत्कृष्ट लयलाई निरन्तरता दिने योजनामा मैदान उत्रनेछ । आजको खेलले उपाधिका लागि प्रतिस्पर्धा गर्ने दोस्रो टोलीको टुंगो लगाउनेछ।

 

तपाईको प्रतिक्रिया