शुक्रबार ४ मङ्सिर २०८३
खेलकुद

सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनलमा, चितवन ३ विकेटले पराजित

बिहीबार मङ्सिर ३, २०८३/ Thursday 11-19-26

काठमाडौं । थारिन्दु रत्नायकेको उत्कृष्ट अर्धशतकको मद्दतमा सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिमले फाइनलमा स्थान पक्का गरेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

सुदूरपश्चिमको जितमा थारिन्दु रत्नायके नायक बने । उनले ४२ बलमा ७ चौकासहित अविजित ५३ रन बनाए । उनलाई डिपक बोहराले अविजित रहँदै साथ दिए । बोहराले सामना गरेको पहिलो बलमै रन नबनाई क्रिजमा टिके ।

यसअघि चितवन राइनोजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो ।

चितवनका लागि डेविड मलानले सर्वाधिक ७१ रनको योगदान दिए । उनले ५१ बलमा ९ चौका र २ छक्का प्रहार गरे । अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । सलाउद्दिन खानले १८, कमल ऐरीले १० तथा देव खनालले ६ रन बनाए ।

सुदूरपश्चिमका बलर स्कट कुगेलेइनले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । थारिन्दु रत्नायकेले २ तथा दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान १ विकेट लिए ।

१३४ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले सुरुवातमै विकेट गुमाएको थियो । जर्ज मुन्सी ८ र बिनोद भण्डारी २३ रनमा आउट भए । त्यसपछि पनि नियमित अन्तरालमा विकेट गुमाउँदा टोली दबाबमा परेको थियो ।

कप्तान दीपेन्द्रसिंह ऐरीले १५, इशान पाण्डेले १० र आरिफ शेखले १० रन बनाए । तर, रत्नायकेको धैर्यपूर्ण ब्याटिङले सुदूरपश्चिमलाई जितसम्म पुर्‍यायो ।

चितवनका लागि रञ्जितकुमारले २ विकेट लिए भने कमल ऐरी, रिजन ढकाल, उसामा मिर र सलाउद्दिन खानले समान १ विकेट हात पारे ।

 

तपाईको प्रतिक्रिया