आइतबार ६ मङ्सिर २०८३
खेलकुद

एनपीएल फाइनलको टिकट केही मिनेटमै सकिएपछि क्यानको स्पष्टीकरण

शुक्रबार मङ्सिर ४, २०८३/ Friday 11-20-26

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत मङ्सिर ५ गते हुने फाइनल खेलको टिकट बिक्री खुला भएको केही मिनेटमै सबै टिकट बिक्री भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले यसबारे औपचारिक स्पष्टीकरण दिएको छ ।

क्यानले जारी गरेको प्रेस विज्ञप्तिमा टिकट बिक्री खुला गरिएलगत्तै करिब दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदका लागि अनलाइन अनुरोध गरेको जनाएको छ ।

संघका अनुसार एकै समयमा ठूलो सङ्ख्यामा प्रयोगकर्ताले टिकट खरिद गर्न खोजे पनि क्रिकेट मैदानको दर्शक क्षमताअनुसार टिकट उपलब्धता सीमित भएकाले बिक्री खुला भएको केही मिनेटमै सम्पूर्ण टिकट बिक्री भएका हुन् । क्यानले यस अवस्थालाई ‘कन्करेन्ट रिक्वेस्ट’ अर्थात् एकै समयमा आएका खरिद अनुरोधका रूपमा उल्लेख गरेको छ ।

टिकट बिक्रीमा देखिएको अत्यधिक चापबारे स्पष्ट पार्दै क्यानले नेपाली क्रिकेट र नेपाल प्रिमियर लिगप्रति दर्शकहरूले देखाएको अपार माया, साथ र उत्साहका लागि हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।

त्यसैगरी, टिकट खरिद गर्न नपाएका दर्शक तथा समर्थकलाई परेको असुविधाप्रति संघले क्षमायाचना गरेको छ ।

क्यानले टिकट प्राप्त गर्न नसकेका समर्थकहरूलाई अनलाइन तथा आधिकारिक प्लेटफर्ममार्फत सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग हेरेर प्रतियोगितालाई साथ र समर्थन गर्न हार्दिक अनुरोधसमेत गरेको छ ।

नेपाल प्रिमियर लिगको फाइनल खेल मङ्सिर ५ गते आयोजना हुँदैछ । फाइनल खेलप्रति दर्शकको अत्यधिक आकर्षण देखिएसँगै टिकट बिक्री खुला भएको केही मिनेटमै सबै टिकट सकिएका हुन् ।

 

तपाईको प्रतिक्रिया