निर्वाचन निष्पक्ष बनाउने मुख्य जिम्मेवारी सरकारको हो: गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गराउने प्रमुख जिम्मेवारी सरकारको रहेको बताएका छन्।
शुक्रबार निर्वाचन आयोगसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले निर्वाचन सञ्चालनमा आयोगको भूमिका महत्वपूर्ण भए पनि निष्पक्षताको प्रत्याभूति गराउने दायित्व सरकारको बढी हुने धारणा राखे।
उनले निर्वाचनका बेला राजनीतिक दलहरूलाई बेवास्ता गरेर सरकार अघि बढ्न नमिल्ने बताए। निर्वाचन लोकतान्त्रिक प्रक्रिया भएकाले सरकारले दलहरूसँग संवाद र सहकार्यलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
थापाले निर्वाचनसम्बन्धी विषयमा संविधानले स्पष्ट व्यवस्था गरेको उल्लेख गर्दै सरकारले राजनीतिक दलहरूसँग आवश्यक छलफल गर्नुपर्ने बताए।
निर्वाचनको खर्च, समयतालिका लगायतका विषयमा समेत सरकारले दलहरूसँग परामर्श गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए।
तपाईको प्रतिक्रिया