एनपीएल फाइनलको टिकट बिक्री खुल्नुअघि नै ‘सोल्ड आउट’, दर्शक आक्रोशित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत शनिबार हुने फाइनल खेलको टिकट बिक्री सुरु नहुँदै ‘सोल्ड आउट’ देखिएपछि दर्शक आक्रोशित बनेका छन् ।
शुक्रबार दिउँसो १ बजेदेखि अनलाइनमार्फत टिकट बिक्री खुला गर्ने आधिकारिक तालिका सार्वजनिक गरिएको थियो । तर, निर्धारित समयअघि नै टिकटिङ प्लेटफर्ममा सबै टिकट बिक्री भइसकेको सूचना देखिएपछि दर्शकले असन्तुष्टि जनाएका हुन् ।
दर्शकका अनुसार दिउँसो १२ बजेर ५७ मिनेटमै टिकटिङ प्लेटफर्म खोल्दा ‘सोल्ड आउट’ को सूचना देखिएको थियो । केही प्रयोगकर्ताको स्क्रिनमा भने टिकट बिक्री सुरु हुने समय १ बजे देखाइएको थियो । तर, निर्धारित समयपछि १ बजेर १ मिनेटमा पुनः प्रयास गर्दा पनि टिकट खरिद गर्न नसकिएको उनीहरूको गुनासो छ ।
यसअघि पनि एनपीएलका महत्त्वपूर्ण खेलको टिकट बिक्री खुल्नेबित्तिकै प्राविधिक समस्या देखिने र केही सेकेन्डमै टिकट सकिएको सूचना आउने गरेको थियो ।
फाइनल खेलको टिकट बिक्री सुरु हुनुअघि नै सबै टिकट सकिएको देखिएपछि आयोजकको टिकट व्यवस्थापन प्रणालीप्रति दर्शकले प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा टिकट बिक्री प्रक्रियाको पारदर्शिता र व्यवस्थापनमाथि समेत आलोचना भइरहेको छ ।
तपाईको प्रतिक्रिया