डिजिटल वित्तीय ठगी नियन्त्रण गर्न स्क्याम प्रतिकार्य केन्द्र स्थापना
काठमाडौं । साइबर तथा डिजिटल वित्तीय ठगीका घटनालाई छिटो सम्बोधन गर्न प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्यूरोमा ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ सञ्चालनमा ल्याइएको छ। विभिन्न सरोकारवाला निकायको सहभागितामा केन्द्रलाई २४सै घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाइएको हो।
डिजिटल भुक्तानी, अनलाइन ठगी, फिसिङ, नक्कली लिंक तथा अनधिकृत वित्तीय कारोबारबाट पीडित भएका नागरिकले तत्काल सहायता लिन १२४७ नम्बरको हटलाइन प्रयोग गर्न सक्नेछन्।
नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै साइबर तथा डिजिटल वित्तीय ठगीबाट सचेत रहन र ठगीमा परेमा तत्काल १२४७ मा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
यसअघि गृह मन्त्रालयको निर्णयअनुसार स्वीकृत केन्द्र स्थापना तथा सञ्चालनसम्बन्धी दिग्दर्शनको बुँदा नम्बर ६ (ग) अनुसार बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिको प्रत्यक्ष सहभागिता अनिवार्य गरिएको थियो।
सोही व्यवस्थाअनुसार वाणिज्य बैंक, ई–सेवा र खल्तीबाहेकका अन्य बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकलाई २४सै घण्टा सम्पर्कमा रहने गरी एक–एक जना सम्पर्क अधिकृत तोक्न निर्देशन दिइएको थियो।
तपाईको प्रतिक्रिया