दलको झोला बोकेर राजनीति गर्ने भ्रम त्याग्नुस्, नेताको चाकडी गर्नेलाई कारबाही हुन्छ : गृहमन्त्री गुरुङ
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राष्ट्रसेवक कर्मचारीलाई कुनै पनि राजनीतिक दलको पक्षमा लागेर राजनीति नगर्न चेतावनी दिएका छन् । उनले कर्मचारीको प्रमुख जिम्मेवारी देश र जनताको सेवा गर्नु भएको स्पष्ट पारेका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले कर्मचारीको काम राजनीतिक दलको झोला बोक्ने वा नेताको चाकडी गर्ने नभएको बताएका हुन् ।
‘राष्ट्रसेवक कर्मचारीको काम कुनै राजनीतिक दलको झोला बोक्ने वा नेताको चाकडी गर्ने होइन, देश र जनताको सेवा गर्ने हो,’ उनले लेखेका छन् ।
सरकारमा आएदेखि नै आफूहरूले कर्मचारीको जिम्मेवारीबारे स्पष्ट पार्दै आएको उल्लेख गर्दै उनले अझै पनि दलको झोला बोकेर राजनीति गर्न पाइन्छ भन्ने भ्रम कसैले पालेको भए त्याग्न आग्रह गरेका छन् ।
पदीय जिम्मेवारी बिर्सेर जनताको सेवाभन्दा नेताको चाकडीलाई प्राथमिकता दिने जोकोहीलाई कानुनबमोजिम कडा कारबाही गरिने पनि उनले चेतावनी दिएका छन् ।
‘हामीलाई कसैको चाकडी गर्ने कर्मचारी होइन, जनताको दुःख बुझ्ने, आफ्नो कर्तव्य निभाउने र देशप्रति इमानदार राष्ट्रसेवक चाहिएको हो,’ गुरुङले भनेका छन् ।
तपाईको प्रतिक्रिया