आइतबार ६ मङ्सिर २०८३
समाज

प्रहरी कर्मचारीका गुनासा सुन्न प्रहरी प्रधान कार्यालयमा केन्द्रीय डेस्क स्थापना

शनिबार मङ्सिर ५, २०८३/ Saturday 11-21-26

काठमाडौँ। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले प्रहरी कर्मचारीका गुनासा, समस्या तथा पीरमर्का प्रत्यक्ष रूपमा सुन्न र सम्बोधन गर्न स्थापना गरिएको केन्द्रीय गुनासो व्यवस्थापन डेस्कको उद्घाटन गरेका छन्।

प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा आईजीपी केसीले उक्त डेस्कको औपचारिक शुभारम्भ गरेका हुन्।

सो अवसरमा उनले नेपाल प्रहरीको सीयूजी सेवामा आबद्ध प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका ५४ हजार १२२ जना कर्मचारीको मोबाइलमा एकैपटक गुनासा दर्ता गर्न सकिने गुगल फारामको लिङ्क पठाएका थिए। साथै, उनले एक जना प्रहरी कर्मचारीसँग टेलिफोनमार्फत प्रत्यक्ष कुराकानी गरी गुनासोसमेत सुनेका थिए।

नेपाल प्रहरीका अनुसार सङ्गठनको आधारस्तम्भका रूपमा रहेका तल्लो तहका प्रहरी कर्मचारीको पेसागत जीवनलाई सुरक्षित, सम्मानित, मर्यादित र न्यायपूर्ण बनाउने उद्देश्यले डेस्क स्थापना गरिएको हो।

डेस्कमार्फत कार्यक्षेत्रमा कर्मचारीले भोग्नुपरेका समस्या, कठिनाइ, विभेद तथा अन्य गुनासालाई सहज र प्रभावकारी रूपमा सम्बोधन गरिनेछ।

कार्यक्रममा आईजीपी केसीले आधारभूत तहका प्रहरी कर्मचारीका गुनासा विभिन्न तह पार गर्दै नेतृत्वसम्म पुग्न कठिन हुने अवस्थालाई मध्यनजर गरी छिटो र प्रभावकारी रूपमा समस्या समाधान गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको बताए।

उनले आधारभूत तहका प्रहरी कर्मचारी सङ्गठनका महत्त्वपूर्ण स्तम्भ भएको उल्लेख गर्दै सडकदेखि सीमासम्म, प्रहरी कार्यालयदेखि विपद् प्रभावित क्षेत्रसम्म नागरिकले प्रत्यक्ष रूपमा देख्ने र अनुभूति गर्ने प्रहरीको वास्तविक प्रतिनिधि उनीहरू नै भएको बताए।

 

तपाईको प्रतिक्रिया