शनिबार ५ मङ्सिर २०८३
राजनीति

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

शुक्रबार मङ्सिर ४, २०८३/ Friday 11-20-26

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट प्राप्त हुने करिब १०७ मिलियन अमेरिकी डलर बराबरको निर्व्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कोषको ‘र्‍यापिड क्रेडिट फ्यासिलिटी’अन्तर्गत उपलब्ध हुने उक्त ऋण स्वीकार गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए। शुक्रबारको विनिमय दरअनुसार उक्त रकम नेपाली करिब १५ अर्ब ९४ करोड ३० लाख रुपैयाँ हुन्छ।

त्यस्तै, भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रका लागि चीन सरकारले उपलब्ध गराउने दुई मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ। उक्त रकम आपत्कालीन उद्धार, राहत तथा जीवन रक्षाका कार्यमा खर्च गरिनेछ।

बैठकले देशभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको नापजाँच गरी अभिलेख तयार गर्न आदेश जारी गर्ने निर्णयसमेत गरेको छ।

यसैगरी, राष्ट्रिय जैविक विविधता रणनीतिक कार्ययोजना (२०२६–३०), ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी मापदण्ड २०८३ र राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ स्वीकृत गर्ने निर्णय भएको मन्त्री तिमिल्सिनाले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया