एनपीएल उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज शनिबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा साँझ ५ बजेबाट फाइनल खेल सुरु हुनेछ।
उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिन लागेका दुवै टोलीबीचको भिडन्तलाई कप्तानद्वय रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीबीचको प्रतिस्पर्धाका रूपमा समेत हेरिएको छ।
सुदूरपश्चिम लगातार तेस्रो पटक एनपीएलको फाइनलमा पुगेको हो। शुक्रबार सम्पन्न दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिमले फाइनलमा स्थान बनाएको थियो।
यसअघि पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई नै ६ विकेटले हराउँदै लुम्बिनी फाइनलमा पुगेको थियो। लुम्बिनीले लगातार दोस्रो पटक उपाधि भिडन्तमा स्थान सुरक्षित गरेको हो।
पहिलो क्वालिफायरमा पराजित भए पनि दोस्रो क्वालिफायरमा जित निकाल्दै फाइनल पुगेको सुदूरपश्चिम पहिलो पटक एनपीएलको उपाधि जित्ने दाउमा छ। यता, साविक विजेता लुम्बिनी भने उपाधि जोगाउँदै लगातार दोस्रो पटक च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ।
यससँगै आजको फाइनलले लुम्बिनीको उपाधि रक्षा गर्ने सपना पूरा गर्छ वा सुदूरपश्चिमले पहिलो पटक च्याम्पियन बन्ने इतिहास रच्छ भन्ने टुंगो लगाउनेछ।
तपाईको प्रतिक्रिया