आइतबार ६ मङ्सिर २०८३
खेलकुद

मन्सीको ऐतिहासिक विस्फोटक शतकमा सुदूरपश्चिमलाई एनपीएल उपाधि, लुम्बिनीमाथि १० विकेटको सानदार जित

लुम्बिनीको लक्ष्य १३.३ ओभरमै ध्वस्त
शनिबार मङ्सिर ५, २०८३/ Saturday 11-21-26

काठमाडौं। जर्ज मन्सीको अविश्वसनीय शतकीय इनिङ्सको मद्दतमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो।

लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले कुनै पनि विकेट नगुमाई मात्र १३.३ ओभरमा १५८ रन बनाउँदै पूरा गर्‍यो। सुदूरपश्चिमले ३९ बल बाँकी छँदै सहज जित निकाल्दै आफ्नो उत्कृष्ट प्रदर्शन प्रमाणित गरेको हो।

सुदूरपश्चिमको जितका नायक बनेका जर्ज मन्सीले आक्रामक ब्याटिङ गर्दै अविजित १२५ रन बनाए। उनले मात्र ५४ बलमा ८ चौका र १२ छक्का प्रहार गरे। उनको स्ट्राइक रेट २३१.४८ थियो। मन्सीको यो इनिङ्स फाइनलको सबैभन्दा आकर्षक प्रदर्शन बन्यो।

उनलाई अर्का ओपनर विनोद भण्डारीले उत्कृष्ट साथ दिए। भण्डारीले २७ बलमा ३ चौकासहित अविजित ३० रन बनाए। दुवैबीच पहिलो विकेटका लागि १५८ रनको अविजित साझेदारी भयो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो।

लुम्बिनीका लागि दिलीप नाथले सर्वाधिक अविजित ३९ रन बनाए। उनले ३१ बलमा ३ छक्का प्रहार गरे। कप्तान रोहित पौडेलले ३१ बलमा ३० रन जोड्दा निरोशन डिकवेलाले १७ बलमा २८ रन बनाए। अली शेखले १२ बलमा आक्रामक २४ रन जोडे।

बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलेइनले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए। हेमन्त धामी, थारिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए।

तर, लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमका ओपनरले मैदानमा टिकेर मात्र होइन, आक्रामक ब्याटिङमार्फत अत्यन्त सहज बनाइदिए। मन्सीको शतकीय विस्फोट र भण्डारीको संयमित ब्याटिङसामु लुम्बिनीका कुनै पनि बलर सफल हुन सकेनन्।

यसरी फाइनलमा एकतर्फी प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १० विकेटले स्तब्ध बनाउँदै एनपीएलको उपाधि उचालेको छ।

 

तपाईको प्रतिक्रिया